१५ बैशाख २०८१, शनिबार

शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको छ: सांसद भण्डारी

chandra bhandari
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीले शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने षडयन्त्र भइरहेको बताएका छन् ।

‘विश्वविद्यालयले समयमा परीक्षा लिएर नतिजा निकाल्न सक्दैन । सीटीईभीटीले एक वर्षसम्म रिजल्ट निकाल्न सक्दैन भने विद्यार्थीहरुलाई तिमीहरु नेपालमा नबस भनेको हो । कतिपय गिरोह कन्सलटन्सीबाट पैसा खाएर गरिबका छोराछोरीलाई अरब पठाउन खेलमा लागेका छन् । विद्यालयका शिक्षकहरु सडकमा आएका छन् । यसमा शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने षडयन्त्र छ,’ ‘नेपाली बहस’सँग उनले भने ।

डा. भण्डारीले आफूहरु शिक्षकहरुको धेरैभन्दा धेरै माग समाधान गर्ने पक्षमा रहेको बताए । उनले थपे, ‘अहिले सरकारी स्कुल राम्रो हुँदै गएका छन् । तर शिक्षकलाई असन्तुष्टि बनाउने, काठमाडौं उतार्ने हो भने यसको जिम्मेवारी कसले लिने ? शिक्षकहरु यसरी सडकमा आउनु खतरनाक कुरा हो । यस्तो विधेयक आउनै हुँदैनथ्यो । यसमा शिक्षकको स्वाभिमानको कुरा जोडिएको छ । हामी संशोधन प्रस्ताव हालेर विद्यालय शिक्षा विधेयकमा भएका कमीकमजोरी न्यून गर्दै धेरैभन्दा धेरै माग समाधान गर्ने पक्षमा छौं ।’

अर्को प्रसंगमा उनले पार्टी नेता डा. शेखर कोइरालाले पार्टीमा भागबन्डा माग्नु स्वाभाविक भएको औंल्याए । डा. भण्डारीले भने, ‘शेखर कोइराला अत्यन्त नरम, सहृदयी, नबिझाउने, शब्दबाट कसैलाई पनि नदुखाउने नेता हुनुहुन्छ । उहाँले कुनै पनि कटु शब्द प्रयोग गर्नुभएको छैन । यो उहाँहरुको पारिवारिक कल्चर नै हो । पार्टीका भातृसंगठन, विभाग, समिति बनाउँदा मिलाएर गरौं भन्नुभएको छ । पार्टी सभापतिलाई सबै काम गर्न दिऊँ, हस्तक्षेप नगरौं, सबै पक्षलाई मिलाएर जाऊँ भनिरहनुको छ । सबै मिलाउँदा पनि ट्यालेन्सी र स्किल खोज्न सक्नुपर्छ भन्नुभएको छ । पार्टीमा यो व्यक्ति परोस्, यो व्यक्तिलाई बनाउँदा राम्रो हुन्छ भन्नु स्वाभाविक हो ।’

स्थानीय तहलाई पार्टीविहीन र प्रदेशलाई कामकाजी बनाउनुपर्ने पनि डा. भण्डारीले औंल्याए । प्रतिनिधिसभामा १०१ भन्दा बढी सांसद नचाहिने उनको जिकिर छ । साथै उनले प्रतिनिधिसभामा समानुपातिक र प्रत्यक्षलाई एकै ठाउँमा राख्नु नहुने र माथिल्लो सदनमा विज्ञ लैजानुपर्ने औंल्याए ।