६ बैशाख २०८१, बिहीबार

सरकार र एडिबीबीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता

Agrement

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

बुधवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

उक्त सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एसियाली विकास बैंकको ऋण सहायताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एडिबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।

यस बाहेक एसियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।