१५ बैशाख २०८१, शनिबार

भारतीय एसएसबीले तुइन फुकाइदिएपछि जयसिंह धामी बेपत्ता भएको ठहर

Tueen Darchula

जनअधिकार अभियान नेपालले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले तुइन फुकाइदिएको कारणले नै जयसिंह धामी महाकाली नदिमा बेपत्ता भएको पुष्टि भएको जनाएको छ ।

बुधबार काठमाडौंमा दार्जुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइनबाट खसेर बेपत्ता भएको घटनाको स्थलगत अध्ययन छानबिन टोलीको प्रतिवेदन सार्वजनिक गर्दै जनअधिकार अभियान नेपालले एसएसबीका सुरक्षाकर्मीले तुइन फुकाईदिएको कारणले नै धामी महाकाली नदिमा बेपत्ता भएको पुष्टि भएको जनाएको हो ।

अभियानले सम्बन्धित पक्षबाट बेपत्ता पारिएका जयसिंह धामीको अवस्था तत्कालै पत्ता लगाई परिवारलाई जिम्मा लगाउन माग गरेको छ । त्यस्तै कुटनीतिक पहल गरी अपराधीलाई कानुनको दायरामा ल्याउन पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै स्थानीय जनताको सुरक्षा तथा आवतजावतका लागि आवश्यक व्यवस्थापन गर्नका लागि तत्कालै पह गर्न पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले स्थलगत अध्ययनका क्रममा स्थानीयले बाटो नहुदा निकै कष्टकर अवस्था भोग्नुपरेको बताए । उनले कुटनीतिक पहल गरी अपराधीलाई कानुनको दायरामा ल्याउन सरकार पछि हट्न नहुने बताए ।

त्यस्तै भारत र नेपालका सम्पूर्ण सिमाना सम्बन्धी विवादहरुलाई कुटनितिक पहलका साथ तत्कालै समाधान गर्न अभियानले जोड दिएको छ भने सरकारका तर्फबाट आधिकारीक र औपचारिक प्रतिवेदन तत्कालै सार्वजनिक गर्न माग गरेको छ ।