२२ बैशाख २०८१, शनिबार

बाढी पहिरोपीडितलाई राहतमा ढिलाइ गरेको भन्दै सरकारसँग प्रचण्डको असन्तुष्टि

prachanda 1

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ढ’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रचण्डले आईतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाए ।

‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो। तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरु त्यहीँ अनुसारको तीब्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्दछ,’ उनले भने ।

सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत प्रचण्डले व्यक्त गरे ।

नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुनसक्ने दावी गर्दै त्यसलाई न्यूनिकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको उनले बताए ।