७ जेष्ठ २०८१, सोमबार

विकासमा प्रतिस्पर्धा गर्नाले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउने : पूर्व मन्त्री बाँस्कोटा

IMG 20210807 100740 1024x461 1

चण्डेनी मण्डन साना किसान कृषि सहकारीले कृषि ज्ञान केन्द्रको अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई आज मिनिट्रेलर सहितका कृषि औजार वितरण गरेको छ ।

मन्डनदेउपुर नगरपालिकाभित्र रहेका कृषि सहकारीका ३० जना सदस्यहरूलाई कृषि औजार तथा ४८ जना सदस्यहरूलाई रकम वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सहकारीका ४८ किसानहरूलाई रु ६ लाख ६२ हजार ८ सय ६६ रुपैयाँ रकम वितरण गरेको छ ।

त्यस्तै १२ जना कृषकलाई मिनिट्रेलर, ४ जना कृषकलाई मकै पिन्ने मेसिन, ५ जना कृषकलाई मकै छोडाउने मेसिन तथा ९ जना कृषकलाई चार्जेबल स्प्रोयर पम्प कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था अध्यक्ष सुमन नेपालले बताउनुभयो ।

कृषि औजार तथा उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासमा प्रतिस्पर्धा गर्नाले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउने बताउनुभयो ।

DSC0709 1024x682 1

उहाँले कृषिमा आधुनिकीकरणले कृषकको उत्पादनमा वृद्धि हुँदै गएकाले कृषिमा पुँजी, बजार, श्रम र आधुनिकीकरणमा प्रबद्र्धनको आवश्यकता रहेको बताउनुभयो ।

“कृषियन्त्रले श्रम शक्तिलाई बचाउँछ, बचेको श्रम अन्य उत्पादनमा लगाउँदा कृषकको आर्थिक अवस्था सुधारोन्मुख हुँदै जान्छ”, उहाँले भन्नुभयो, “विकास पार्टीको निम्ति नभई नितान्त जनताको जीवनस्तर सुधारका लागि हुन्छ, विकास र राजनीतिक प्रतिस्पर्धा नितान्त फरक विषय हो ।”

पूर्व मन्त्री बाँस्कोटाले विकासका कुनै पनि बजेट नकाट्न सरकारसँग आग्रह गर्नुभयो । नीतिगत निरन्तरताले लगानी बच्ने भएकाले नीतिगत अन्यौलता सिर्जना नगर्नसमेत उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर उपप्रमुख निर्मला शाहीले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाउँदै आएको बताउनुभयो ।

नगरपालिकामा जनप्रतिनिधि आए लगत्तै कृषि नीति तयार पारिएको र नगरका विभिन्न वडाहरूमा कार्यान्वयन हुँदै आएको नगर उपप्रमुख शाहीले बताउनुभयो ।