१५ चैत्र २०८०, बिहीबार

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभा विजनेशविहीन

nepal parliament building

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभा विजनेशविहीन भएको छ ।

संघीय संसद्का दुवै सदनको अधिवेशन साउन ३ गतेदेखि चलिरहेका छन् । तर चालू अधिवेशनमा पनि प्रतिनिधि सभा भने बिजनेसविहीन छ । राष्ट्रिय सभाले पछिल्ला दुई बैठकमा अघिल्लो सरकारले अगाडि बढाएका र समितिमा सहमतिसाथ अगाडि बढेका विधेयकलाई कार्यसूची बनाएको छ ।

अन्य बैठकमा भने राष्ट्रिय सभा पनि बिजनेसविहीन नै थियो । हालसम्म प्रतिनिधि सभाका पाँच बैठक बसिसकेका छन् तर सदन मुख्य दायित्वमा केन्द्रित हुन सकेको छैन ।

कानून निर्माणको प्रक्रिया शुरु गर्न बैठकले सकेको छैन । आयोगका वार्षिक प्रतिवेदन, राष्ट्रपति कार्यालयको पत्र तथा शोक प्रस्तावहरूमा प्रतिनिधि सभा बैठक सीमित छ । सदनलाई बिजनेश दिने मुख्य दायित्व सरकारको हो ।

सरकारले ल्याउने विधेयक र त्यसपछिका प्रक्रिया सदनका मुख्य कार्यसूची हुन् । यस्तै विभिन्न सन्धि सम्झौता पनि सदनका कार्यसूची बन्ने गर्छन् । तर पछिल्लो समय सदन निरन्तर बिजनेसविहीन छ ।

सरकारले पूर्णता नपाएका कारण कतिपय विधेयक तत्काल अगाडि बढाउन विभागीय मन्त्री छैनन् । समितिमा हुने छलफलमा भाग लिन मन्त्री नहुँदा विधेयकको प्रक्रिया अगाडि बढेको छैन । संसदलाई दिने बिजनेसबारे यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि मन्त्री र सत्तापक्षका नेताहरूको ध्यानाकर्षण गराइसक्नुभएको छ ।

यस्तै प्रतिपक्षका प्रमुख सचेतक तथा सचेतकहरूले पनि बिजनेसबारे सभामुखको ध्यानाकर्षण गराइसकेका छन् । संघीय संसद्का दुवै सदनमा विभिन्न चरणमा ५५ विधेयक विचाराधीन छन् ।

जसमा प्रतिनिधि सभामा ३६ र राष्ट्रिय सभामा १६ विधेयक छन् । संसद् सचिवालयका अनुसार दर्ता र वितरण विधेयकको सङ्ख्या १७ छ ।

यस्तै समितिमा विचाराधीन १५, सभामा विचाराधीन १९ र एउटा सभाबाट अर्कोमा पठाइएका सन्देशसहित टेबल हुनुपर्ने विधेयक सङ्ख्या छवटा छन् ।