१७ बैशाख २०८१, सोमबार

छोरी सुजिताको हत्यामा बाबुकै संलग्नता!

sujita

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पक्राउ गरेको छ ।

जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेपछि प्रहरीले उनका बाबुलाई पनि पक्राउ गरेको हो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला पारेका थिए । सुजिताको हत्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीले बताएको छ ।

यसरी भएको थियो हत्या

प्रहरीका अनुसार गत जेठ २० गते बिहान ८ देखि ९ बजेको बीचमा रुपेशले भाउजू सुजिता देवी ठाकुरको कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची हत्या गरेका थिए ।

हत्यापछि दिनभरि शवलाई सुजिताकै पलङमा छोपेर कोठामा ताल्चा लगाई राखेको र साँझ ट्याक्टरमा राखी खेतमा खाल्टो खनी गाडेको प्रहरीले बताएको छ ।

जेठ २० गते राति गाडेको शव जेठ २९ गते मध्यराति पुनः खनेर रुपेशले अर्को ठाउँमा सारेका थिए । पहिला गाडिएको ठाउँबाट झिकेर ५ सय मिटर टाढा काठ गोदाम नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा खाडल खनी पुरेको प्रहरीको भनाइ छ । प्रहरीले असार २७ गते यही ठाउँबाट शव निकालेको थियो ।

यो घटनामा संलग्न भएका मृतक सुजाताका देवर रुपेशसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । रूपेश, उनकै गाउँका ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।