६ बैशाख २०८१, बिहीबार

दार्चुला घटनाको विषयमा सरकारले खोजविन गरिरहेको छः गृहमन्त्री खाँण

balkrishna khad

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा भएको चारवटा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माणको कार्य अघि बढिरहेकाले चाँडै समस्या समाधान हुने बताउनुभएको छ । दार्चुलामा साउन १५ गतेको घटना दुःखद भएको बताउनुहुँदै उहाँले त्यसबारेमा सरकारले काम गरिरहेको बताउनुभयो ।

घटनामा जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे कार्यदल गठन भई कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । सोमबार संसद भवनमा बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री खाँणले सो कुरा जानकारी गराउनुभएको हो । दार्चुला जिल्ला प्रशासन कार्यालयले समेत घटनाबारे तीन जनाको एक टोली स्थलगत अध्ययन गरेको र भारतीय पक्षसँग समेत पत्राचार भइसकेको उहाँले बताउनुभयो ।

बेपत्ता धामीको खोजतलासको काम पनि जारी रहेको तर अहिलेसम्म फेला पार्न नसकिएको उहाँले बताउनुभयो । खोजतलासका लागि भारतीय पक्षलाई समेत आग्रह गरेको र खोजीकार्य भइरहेको गृहमन्त्री खाँणले जानकारी दिनुभयो । मन्त्रालयमा बसेको बैठकले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानविन समितिले काम गरिरहेको र १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा निर्धारण गरिएको उहाँले सभालाई जानकारी गराउनुभयो । छानविन समितिका सदस्यहरु घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको पनि उहाँले बतउनुभयो ।

सोहीअनुसार धनुषाको पल्टुरवि दासको घटनाको पनि छानविन भइरहेको उहाँले जानकारी दिनुभयो । जग्गाको विषयलाई लिएर दाजुभाईबीच विवाद हुँदा दासको मृत्युभएको घटनाको छानविन गर्न छानविन समिति बनाई खोजविन भइरहेको उहाँले बताउनुभयो ।

मनसुनजन्य विपत्तिले ६६ को निधन

पछिल्लो समय बाढी पहिरो तथा प्राकृतिक विपत्तिले समस्या पारिरहेको र अहिलेसम्म विभिन्न जिल्लामा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिनुभयो । मनसुनजन्य विपत्तिले ६६ जनाको निधन, ४० जना बेपत्ता र ८१ जना घाइते भएको उहाँले बताउनुभयो । त्यस्तै, ६१९ घर पूर्ण क्षति १६२ घरमा आंशिक क्षति पुगेको पनि उहाँले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, लार्के, इन्द्रावती नदीमा आएको बाढीले ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै, ३३८ घर पूर्ण क्षति, सातवटा पुल, १४ झुलुङ्गे पुलमा क्षति पुगेको पनि गृहमन्त्री खाँणले जानकारी गराउनुभयो ।

मेलम्चीमा पटक पटक बाढी पहिरो आउनुको कारणबारे पत्ता लगाउन विज्ञको टोली परिचालन गरिएको पनि गृहमन्त्री खाँणले सभा बैठकलाई जानकारी गराउनुभयो । हेलम्बु क्षेत्रमा पुग्ने राजमार्गमा पनि पूर्णतः क्षति पुगेकाले वैकल्पिक बाटोको प्रयोग भइरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनामा पनि बाढी पहिरोले ठूलो क्षति पुगेको र त्यसबारे अध्ययन अनुसन्धान भइरहेको उहाँले जानकारी गराउनुभयो ।

काम प्रभावकारी बनाउन माग

गृहमन्त्री खाँणको अभिव्यक्तिपछि राष्ट्रियसभा बैठकमा सांसद सदस्यहरुले सरकारको कामकाज जनताको रक्षामा केन्द्रित हुनुपर्ने माग गर्नुभयो । सभा सदस्य कोमल वलीले दार्चुला घटनामा कार्यदल मात्र गठन गर्नुभन्दा ठोस काम सरकारले गर्नुपर्ने बताउनुभयो ।

सभा सदस्य खगेन्द्रप्रकाश पन्तले मनकला खड्काको हत्याको घटनाको छानविन कहाँ पुग्यो सरकारसँग यथार्थ जानकारीको माग गर्नुभयो । कहिले बिपत आउँछ भनेर पर्खने कि पूर्व तयारी गरेर बस्ने उहाँले जिज्ञासा गर्नुभयो । सरकारले विपतबाट नागरिकलाई जोगाउन दीर्घकालीन योजना बनाउन माग गर्नुभयो ।

सभा सदस्य चक्रप्रसाद स्नेहीले डडेल्धुराको अस्मिता धामीको घटनाको छानविन कति भयो रु उहाँले जानकारी माग गर्नुभयो । त्यस्तै, सरकारले ल्याउने खोप किन पर्याप्त आउन नसकेको उहाँले प्रश्न गर्नुभयो । बैठकमासभा सदस्यहरु भैरवसुन्दर श्रेष्ठले परमादेश बाट गठन भएको सरकारले भारतीय पक्षसँग समन्वय गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

सभा सदस्य डा। विमला राई पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले करिब ३ सय थान तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्नुभएको र केही थान तुइन विस्थापनको काम बाँकी रहेको र त्यसबारे यो सरकारले के गरिरहेको छ जानकारी माग गर्नुभयो ।
सभा सदस्य रामनारायण विडारीले महाकाली सन्धीमा साझा नदीको रुपमा महाकाली व्याख्या गरिएकाले झोलुङ्गे पुल बन्न नसकेको हो कि सरकारबाट थाहा चाहियो भन्नुभयो । सभा सदस्य भगवती न्यौपानेले दार्चुला घटना दुःखद भएको र त्यसबो देशलाई दुःखेको बताउनुभयो । गृहमन्त्रीको प्रस्तुती हल्कारुपमा आएको उहाँले टिप्पणी गर्नुभयो ।

सभा सदस्य शेरबहादुर कुँवरले जयसिंह धामीको भारतीय एसएसवी जवानले हत्या गरेको टिप्पणी गर्नुभयो । प्रत्यक्षदर्शीले त्यो घटनाको विवरणबारे बताइसकेकाले सरकारले कुटनीतिक ढङ्गबाट पहल गरी दोसीलाई कारवाही गराउन माग गर्नुभयो । सभा सदस्य इन्दु कडरियाले दार्चुला घटना अमानवीय घटना भएको बताउनुभयो ।