१४ बैशाख २०८१, शुक्रबार

सुजिताको हत्या प्रकरण: एक साताभित्र धेरै रहस्य खुल्ने प्रहरीको दावी, पक्राउ परेका ४ जना सार्वजनिक

Sujita Thakur Hatya Aaropit

सुजिता ठाकुरको हत्या प्रकरणमा महोत्तरी प्रहरीले ४ जना आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जलेश्वरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहारपट्टी–७ स्थित भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले हत्यामा मृतकका पति ३१ वर्षीय मुकेश ठाकुरको संलग्नता नदेखिएको बताए । पक्राउ परेका बण्ठा, मुल्ला र नथुनीले मृतकको शव ओसारपसार गरी शव गाड्ने कार्यमा सहयोग पुर्याएको उनको भनाइ छ ।

अझै पनि अनुसन्धान जारी रहेको भन्दै उनले छिट्टै यस घटना सम्बन्धमा विस्तृत जानकारी गराइने बताए । उनले भने, ‘सुजिताको हत्या काण्डमा अहिलेसम्मको अनुसन्धानले देखाएको तथ्यबारे हामीले केही जानकारी गरायौं, एक साताभित्र धेरै रहस्य खुल्ने विश्वास लिएको छु ।’

महोत्तरी जिल्ला भमरपुरा घर भएकी सुजिता ठाकुरको जेठ २० गते हत्या भएको थियो । सुजिताको हत्याको आरोपमा माइती पक्षले सासु, ससुरा, पति र देवरानी रोमामाथि समेत किटानी जाहेरी दिएका थिए । हत्यामा पतिको संलग्नता नरहेको भन्दै प्रहरीले उनलाई थुनामुक्त गरेको छ ।