
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवले पाएपछि अत्तालिएका महन्थ ठाकुर समुहले मुद्दा गर्न थालेका छन् ।
ठाकुरले निर्वाचन आयोगको फैसला रोक्न गरेको मुद्दाको सुनवाई आइतवार हुन सकेन् ।सो मुद्दा ८ नम्बरमा परेकाले हेर्न समय नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ ।
ठाकुरले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा अब सोमबार सुनुवाइ हुने भएको छ । आइतबारका लागि तोकिएको मुद्दा हेर्न नभ्याएपछि सर्वोच्चले सोमबारको लागि पेशी तोकेको हो ।
ठाकुरले निर्वाचन आयोगको आदेशलाई कार्यान्वयन गर्न अन्तरिम आदेशबाट रोक लगाउन अदालतमा रिट दायर गरेका हुन् । यस अघि उनले निर्वाचन आयोग बिरुद्ध सर्वोच्चमा गरेको मुद्दामा ‘हेड काउण्ट’ रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।
तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आयोगले ‘हेड काउण्ट’गर्दै दुई तिहाई भन्दा बढी बहुमत रहेको यादव समुहलाई आधिकारिकता प्रदान गरेको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ठाकुरको पक्षमा १६ जना र यादव समुहको पक्षमा ३५ जना पुगेका छन् ।
निर्वाचन आयोगमा भएको ‘हेड काउण्ट’मा तटस्थ रहेका रेशम चौधरीलेपनि पछि यादव समुहमै रहने प्रतिबद्धता जनाएकाले संख्या ३५ पुगेको छ ।
उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै ठाकुरले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा.मनमोहन भट्टराईको एकल इजलासमा पेशी चढेको थियो ।
अदालतको सुचीमा ठाकुरको मुद्दाले विशेष प्राथमिकता पाएको देखिएन् ।ठाकुरले माग गरेको अन्तरिम आदेशका लागि अब सोमवार बहस हुनेछ ।
अदालतमा एउटा मुद्दा विचाराधीन छँदाछँदै आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरूको ‘हेड काउण्ट’ गरेको भन्दै निर्णय रद्द गर्न ठाकुरले वारेस प्रदिप कुमार पाठक मार्फत सर्वोच्चमा रिट दायर गरेका हुन् ।ठाकुरले साउन ८ गते दायर गरेको मुद्दा समेतलाई एकैसाथ सुनवाई गर्ने बताइएपनि त्यो प्राथमिकतामा परेको देखिएन् ।
पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा समेत दुई तिहाई भन्दा बढी बहुमत यादव समुहमा पुगेपछि ठाकुरले प्रतिशोध लिन अदालतमा मुद्दामाथि मुद्दा हाल्न थालेका छन् ।
ठाकुर अदालतमा रिट हालिरहेको बेला यादवले पार्टी र संसदीय दलको गतिबिधिलाई तिव्र रुपमा अगाडी बढाएका छन् । उनले संसदीय दलको विधानलाई कार्यकारिणी समितिबाट अनुमोदन गराइ लोकतान्त्रिक विधि अनुसार दलको नेता समेत चयन भएका छन् ।
ठाकुरले कानुनको छिर्के लगाउन सक्ने अनुमान गरेरै यादव समुहले पार्टी र दलको कार्यलाई धमाधम अगाडी बढाउदै तल्लो तहमा कार्यकर्ताहरुलाई अलग्गिन नदिन जागरण अभियान चलाउने निर्णय समेत गरिसकेको छ ।
ठाकुरले ८ गते सर्वोच्चमा दिएको रिटको किनारा नलाग्दै अर्को रिट दायर गरेका छन् । तर त्यसमापनि अन्तरिम आदेश जारी नभए ठाकुरले सांसद पद त्यागगरि अर्को दल खोल्ने अथवा जसपामै यादवले भनेजस्तै आत्मलोचनागरि फर्कने छन् त्यो हेर्न भने बाँकी छ ।
यस अघि सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि आयोगले साउन ११ गते कार्यकारिणी समिति सदस्यहरूको सनाखत गरी उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सो समुहले थाँती राखिएको संगठनात्मक कार्यहरुलाई अगाडी बढाएका छन् ।
ठाकुरले साउन ८ गते र १५ गते दायर गरेको दुबै रिटलाई लगाउमा राखेर सर्वोच्च अदालतले एकैसाथ सुनुवाइ गर्ने भएको छ ।सर्वोच्चको आदेशलाई ठाकुर पक्षले बहुत व्यग्रतासाथ प्रतिक्षा गरिरहेका छन् । तर यादव समुहका लागि त्यो टरेकै राम्रो भएको छ ।
जसपाको कार्यकारिणी समिति बैठकबाट नै निर्वाचन आयोग र सर्वोच्च अदालतमा हुने मुद्दामामिला हेर्न कार्यकारिणी सदस्य प्रकाश अधिकारीलाई तोकिसकेको छ ।
‘मुद्दा सोमवारका लागि सरेको छ ’अधिकारीले भने, अदालतको आदेशको प्रतिक्षामा छौ । ठाकुर समुहका नेता राजेन्द्र महतोले हालै प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा आउँदा पक्षमा जनसमर्थन नदेखिएपछि निराश भएर फर्केका छन् । उनले अर्को दल खोल्ने बताएपनि परिस्थिति सहज नभएको बताउँदै जसपालाइ नै रोक्ने निस्कर्षमा पुगेका छन् ।