१२ बैशाख २०८१, बुधबार

सबै शक्ति परिचालन गरे दलहरुले चुनाव प्रचारमा

localElectionAllParties

राजनीतिक दलहरुले चुनावमा आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्छन् । अहिलेको चुनावी नतिजाले दलहरुको पाँच वर्षको मूल्यांकन हुन्छ । त्यही कारण दलहरुले आफ्ना विभागमात्र नभएर भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गर्छन् । दलहरुले आफ्ना संगठन, समिति, भ्रातृ तथा शुभेच्छुक संस्थालाई कसरी परिचालन गरिरहेका छन् त ?

नेपाली कांग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेर पार्टी पंक्तिलाई सक्रिय बनाएको छ ।

केन्द्रमा रहेको यो समितिले प्रदेशदेखि वडासम्म निर्वाचन परिचालन समिति बनाएको छ । त्यतिमात्र होइन, प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित केन्द्रीय प्रचार समितिले वडा तहसम्म प्रचार समिति बनाएर पार्टीको नीति तथा सिद्धान्त बुझाउने काम गर्दैछ । मूल परिचालन समितिले भ्रातृ एवम् शुभेच्छुक २४ संगठनलाई जिम्मेवारी दिएर खटाउादै छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रका ३२ वटा विभागसहित शुभेच्छुक र जनवर्गीय संगठनलाई परिचालन गर्दै छ । केन्द्रदेखि टोलस्तरसम्मै प्रचार समिति बनाएर चुनावी प्रचार गर्ने काम एमाले गरिरहेको छ ।

सत्ता साझेदार माओवादी केन्द्रले पनि पार्टी केन्द्रका ३२ विभागलाई चुनावमा परिचालन गर्दै छ । जनवर्गीय र शुभेच्छुक संस्था परिचालन गर्ने खाकासमेत माओवादी केन्द्रले बनाएको छ ।

त्यसो त, एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संगठन निर्माणकै क्रममा रहे पनि भएका पार्टी विभाग र संगठन चुनावमा परिचालन गर्दै छ । मधेस केन्दि्रत दल जसपा र लोसपाले भने आफ्नो प्रभाव क्षेत्रमा संगठन परिचालन गरिसकेका छन् ।

निर्वाचन आयोगले कात्तिक १८ गतेअघिसम्म चुनावी भेला र आमसभा गर्न रोक लगाएको छ । त्यसपछिको छोटो समयमा देशव्यापी रुपमा गर्ने ठूला सभाको तयारी दलहरुले अहिले नै गरेर पार्टी संगठन परिचालन गरेका हुन् ।