२० बैशाख २०८१, बिहीबार

गृहमन्त्रीको निर्देशन: तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनू

tuin nepal 1
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाणले तुइन हटाएर झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन् । शुक्रबार बिहान महाकाली नदी तर्ने क्रममा ‘भारतीय सीमा सुरक्षाबलले तुइन काटिदिएपछि’ दार्चुलाको व्यास गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि केन्द्रीय विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले तुइन विस्थापन गर्न निर्देशन दिएका हुन् ।

आइतबार गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलसहितको बैठकमा खाणले तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिन भनेका हुन् ।

“तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिनुभएको छ,” गृहमन्त्रीको सचिवालयले भनेको छ, “नागरिकको जीवनरक्षा, उद्धार र राहतका लागि गृहमन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।” बैठकमा सुरक्षा प्रमुखहरूले शनिबार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिबारे ब्रिफिङ गरका थिए ।

“चनौटे पुल बगाउँदा सडक सञ्जाल अबरुद्ध भएको छ । तत्काल हेलम्बु गाउँपालिकको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्नुपर्छ,” गृहमन्त्रीले भनेका छन्, “सहज रूपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानीका लागि सडक पहुँच अनिवार्य छ । त्यसका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई म निर्देशन दिन्छु् ।”

उनले सडक आवागन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न आग्रह गर्दै सडक पहुँच निर्माणका लागि केन्द्रलाई अग्रसरता लिन निर्देशन दिए । आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने गृहमन्त्री खाणको प्रतिबद्धता थियो ।