१३ बैशाख २०८१, बिहीबार

जयसिंहका भाइ भन्छन् – निर्दोषले बाटो हिँडेकै कारण ज्यान गुमाउनु पर्ने अवस्था आयो

darchula

दार्चुलाको व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा शुक्रबार महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भए । मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएपछि उनी महाकाली नदीमा खसेको स्थानीयले बताएका छन् ।

जयसिंहसँगै रहेका कल्याण धामीले भारत पुग्नै लाग्दा एसएसबीले तुइनको तार काटिदिएको बताउँछन् । ‘हामी वारी नै थियौँ, पारी पुग्नै लाग्दा एसएसबीले तुइनको तार काटिदिए,’ उनी भन्छन् । तुइनको तार काटिदिएपछि जयसिंह तारसँगै हुत्तिएर महाकाली नदीमा बेपत्ता भएको उनको भनाइ छ ।

जयसिंहका आफ्नै भाइ नरेन्द्र धामीले एसएसबीको ज्यादती धेरै पहिलेदेखि नै नेपालीले भोग्दै आएको बताउँछन् । त्यो बाटो भएर नदी तर्नुपर्ने आफूहरूको बाध्यता भएको तर भारतीय पक्षले आफूहरूमाथि अमानवीय व्यवहार गर्ने गरेको उनको भनाइ छ । ‘भारतीय पक्षले एकदमै हेप्ने गर्थ्यो, तुइन तर्दै गर्दा तार नै काटिदिएर अहिले उनीहरूले नेपालीप्रति अमानवीय व्यवहार देखाए,’ उनले भने, ‘अहिले त निर्दोष व्यक्तिले बाटो हिँडेकै कारण ज्यान गुमाउन पर्ने अवस्था आयो ।’

नेपालको बाटो भएर वारीबाट पारी जान एक दिन लाग्ने भएकाले उनीहरू तुइनमार्फत पारी जाने गरेका थिए । ‘एक हप्ता अगाडि म पनि त्यही तुइन तरेर पारी पुगेँ तर एसएसबीले निकै गाली गर्‍यो, अपशब्द पनि प्रयोग गर्‍यो,’ उनले भने ‘त्यो बाटो जानु बाध्यता थियो ।’ ‘हम स्टुडेन्ट हे सर हमे जाने दो’ भनेपछि तथानाम गाली गर्दै एसएसबीले त्यहाँबाट जान दिएको उनी सम्झन्छन् ।

‘धेरै पटक तार काटिदिन्छन् । गाली पनि खानुपर्छ । यदी झुलुङ्गे पुल भएको भए यो सबै सहनुपर्ने थिएन’ उनले भने, ‘निर्दोषले बाटो हिँडेकै कारण ज्यान गुमाउनु पर्ने थिएन ।’

दाइ नदीमा खस्दा उनी खलंगा गएका थिए । दाइसँगै गएका साथीहरूले उनलाई घटनाबारे जानकारी गराएका हुन् । ‘अहिले भर्खरै पनि दाइको खोजी गरेर त्यही ठाउँबाट आउँदै छु,’ उनले भने, ‘दाइ भेटिन्छकी भन्ने आशा पनि मर्न थालिसक्यो ।’

महाकाली नदीमा पुल नबन्दा व्याँसवासीले सधैँ भारतीय पक्षको ज्यादती सहनु परेको उनको भनाइ छ । पुल निर्माणका लागि वर्षौंदेखि दबाब दिँदै आएको भए पनि अहिलेसम्म पुल बन्न नसकेको उनले बताए । शिलान्यास भएको तीन वर्ष बितिसक्दासम्म पुलको काम अधुरै रहेको र ठेकेदारको लापर्बाहीले गर्दा पनि समस्या भइरहेको उनको भनाइ छ ।

‘अब त सुदूरपश्चिमकै मान्छे प्रधानमन्त्री छन् । अहिलेसम्म समस्या भोगे पनि अब भने यस्तो समस्या भोग्न नपरोस्’ उनले भने, ‘सीमामा हुने यस्ता खालका घटना कम गर्न अब सरकारले नै पहल गर्नुपर्ने छ ।’

महाकाली नदीमा बेपत्ता भएका धामीको खोजीसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाको वास्तविकता बुझ्न सुरक्षा अधिकारीको टोली घटनास्थल पठाएर स्थानीय बासिन्दासँग जानकारी लिएको छ । प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरूसँग जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाका बारेमा सोधपुछ गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले प्रत्यक्षदर्शीहरूले एसएसबीले तुइन काटेको आफूहरूले स्पष्ट नदेखेको बताएका जानकारी दिए । ‘तुइन एसएसबीले काटेको कुरा सोधपुछ गर्दा प्रत्यक्ष देखेको भनेर कसैले पनि भनेनन्’, उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’उनले घटनाका बारेमा छानबिन भइरहेको र महाकालीमा बेपत्ता धामीको खोजी तीव्र पारिएको बताए ।

राष्ट्रिय चासोको विषय बनेको धामी बेपत्ता भएको घटनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो व्यक्त गर्दै घटनाको सत्यतथ्य कुरा बाहिर ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । राजनीतिक दल र विद्यार्थी संगठनहरूले पनि भारतीय पक्षको ज्यादती रोक्न र धामी बेपत्ता भएको घटनाको वास्तविक कुरा बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।

भारतीय पक्षको यस्तो ज्यादती पहिलो भने होइन । एसएसबीको गोली लागेर २६ फागुन २०७३ मा कञ्चनपुरका गोविन्द गौतमको मृत्यु भयो । एसएसबीका जवानले नेपालीमा भूमि प्रवेश गरी गोली चलाउँदा कञ्चनपुर आनन्द बजार नाकामा गौतमको मृत्यु भएको थियो ।