१५ चैत्र २०८०, बिहीबार

प्रधामन्त्री देउवा भने: दार्चुला घटनालाई गम्भीर रूपमा लिएका छौं

deuba 2 1 scaled 822x548 1
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शुक्रबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । सत्तारूढ चार राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले घटना छानबिनपछि त्यहाँको समस्या समाधानमा सरकार लाग्ने बताएका छन् ।

सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दार्चुलाको व्यास गाउँपालिका–२ मा सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेको घटनाको छानबिन गर्न पनि माग गरेका थिए ।

एसएसबीका एक जवानले शुक्रबार तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता छन् । उक्त घटनाप्रति भर्त्सना गर्दै विद्यार्थी संगठनले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न सरकारसँग माग गरेका छन् ।

यस्तै, सत्तारूढ कांग्रेसले दार्चुलाको घटना अत्यन्तै आपत्तिजनक र अमानवीय रहेको जनाउँदै त्यस विषयमा भारतसँग संवाद गर्न आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति निकाल्दै घटनासँग सम्बन्धित सबै प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् ।

शर्माले नागरिकलाई न्याय दिलाउन र सम्बन्धित परिवारजनलाई राहत दिन सरकारसमक्ष माग गरेका छन् । यस्तै, नेताहरू मोहन वैद्य (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (नेपाल कम्युनिस्ट पार्टी), ऋषिराम कट्टेल (नेकपा) र आहुति (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल) ले दार्चुलाको घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र घटनाको विश्वासिलो छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारले भने घटनाको छानबिन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेको समिति बनाएको छ ।

गृह मन्त्रालयले तुइनबाट युवक खसेर बेपत्ता भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै बेपत्ता व्यक्तिको खोजी भइरहेको पनि उल्लेख गरेका छन् ।