६ बैशाख २०८१, बिहीबार

जसपामा यादव पक्षले आधिकारिकता पाउने पक्का, कुन पक्षमा कति सदस्य ?

jasapa

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने करिब पक्का भएको छ।

निर्वाचन आयोगले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी नेपालबीच एकता हुँदा हस्ताक्षर गरेका ५१ जना कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ गर्दा यादवका पक्षमा प्रचण्ड बहुमत देखिएको छ ।

यादवका पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना मात्रै देखिएका छन् । यादवका पक्षमा दुई तिहाई मत देखिएपछि ठाकुर पक्ष निराश देखिएको छ ।

यादवलाई महन्थ ठाकुर पक्षका राजकिशोर यादव र मनीषकुमार सुमनले पनि साथ दिनुभएको छ । जेलमा रहेका रेशम चौधरी तटस्थ बसेको नेताहरुले बताएका छन् ।

सनाखतका लागि आयोग लगिएका चौधरी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसित छलफल गरेपछि तटस्थ बस्ने निर्णयमा पुगेको नेताहरुले बताएका निर्वाचन आयोग पुगेका सहकर्मी छवि सापकोटाले जनाएका छन् ।

आफ्ना पक्षमा सहज बहुमत देखिएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले आत्मालोचना गरेर आए महन्थ ठाकुर र राजेन्द्र महतोलाई ठाउँ दिने बताउनुभएको छ ।

अहिले ठाकुर पक्षले कार्यकारिणी समिति र संसदीय दल दुवैमा आफ्नो शक्ति गुमाएको छ। केही दिन अघिससम्म ३२ सदस्यीय संसदीय दलमा बहुमतमा रहेको ठाकुर पक्ष अहिले त्यसमा पनि कमजोर बनेको छ ।

जसपाको आधिकारिकता यादवले पाउने भएपछि ठाकुरलाई दुवैतिर ४० प्रतिशत पुर्‍याउन पनि समस्या भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी विद्यमान कानूनमा अहिले दल र पार्टी केन्द्र दुवैतिर ४० प्रतिशत पुगे मात्रै पार्टी विभाजन गर्न सकिन्छ।

तर ठाकुर पक्षले दुवैतिर ४० प्रतिशतको पनि हैसियत गुमाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले आजै यादव पक्षलाई आधिकारिकता दिने संभावना छ।