२६ बैशाख २०८१, बुधबार

आमरण अनसन बसेका पूर्वराष्ट्रपति यादवका छोराको स्वास्थ्य अवस्था बिग्रँदै

congress

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा भिडभाड छ। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा नेता/कार्यकर्ता खुसी साट्न कार्यालयमा भेला भएका भने होइनन् । पार्टी नेतृत्व सरकार गठन र गठबन्धन रिझाउन लागिपरे पनि नेता/कार्यकर्ता भने १४ औं महाधिवेशनको तयारीमा देखिन्छन्। मुख्यगरी क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद छ ।

विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समिति बनाए पनि त्यो समितिले विवाद हेरेन। बरू समस्या ज्युँ का त्युँ राखेर फाइल केन्द्रीय समितिमै फिर्ता गरिदिएको छ ।

बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरणबारेको फाइल खोलिएको छैन। त्यसैले त्यो फाइल अध्ययन गरी क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने माग एकाथरिको छ भने अर्को पक्ष भने ती फाइल खोले पनि मापदण्डवेगर दिइएका क्रियाशील सदर गर्न नहुनेमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षका बारा जिल्लाका नेता/कार्यकर्ता केन्द्रीय कार्यालयको मुल ढोकामा धर्ना बसेको आज १२ दिन भइसक्यो। उनीहरूका माग सुनुवाइ भएका छैनन् । बरू आजदेखि नयाँ दृश्य कार्यालय परिसरमा देखिएको छ। कार्यालयको प्रांगणमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका बाराका नेता÷कार्यकर्ताले धर्ना थालेका छन्। उनीहरूले टेन्ट टागेर धर्ना दिएका छन्। आजदेखि नेता/कार्यकर्तालाई त्यही भातभान्साको व्यवस्था छ । देउवा पक्षका नेता÷कार्यकर्ताले आजदेखि काउन्टर धर्ना दिएका हुन्।

जिल्ला कार्यसमिति बाराले पठाएका क्रियाशील सबै मापदण्डअनुसार नै रहेकोले ती सदर हुनुपर्ने माग उनीहरूको छ । यसको नेतृत्व गरेका छन्– बारा जिल्ला कार्यसमितिका सभापति जयचन्द्र चौरासियाले। चौरासिया देउवा पक्षका नेता हुन्। उनीसँगै क्षेत्रीय सभापतिहरू र कार्यकर्ता करिब दुई सय जना पार्टी कार्यालयको आँगनमा धर्नामा बसेका छन् । आफूहरूले पठाएको फाइल क्रियाशील छानबिन समितिले अध्ययन गरेर सफ्टवेयरमा इन्ट्री गर्दै क्रियाशील सदर गरिदिनुपर्ने सभापति चौरासिया बताउँछन् ।

क्रियाशील छानबिन समितिले बारामा विवाद रहेको भन्दै यसबारे केन्द्रीय कार्यसमिति वा पदाधिकारीले निर्णय गर्नुपर्ने भन्दै क्रियाशील छानबिन कार्य स्थगित गरिदिएको छ ।

‘जिल्ला कार्यसमितिले पठाएको क्रियाशीलको फाइल खोलेर सदर नगरेसम्म हामी धर्ना बसिरहन्छौं। हाम्रा साथीहरू धर्ना दिन जिल्लाबाट काठमाडौं आइरहेका छन्,’ सभापति चौरसियाले भने, ‘आजदेखि यही मेस चलाउँछु ।’ आफ्नो जिल्लाबाट करिब एक हजार जना नेता तथा कार्यकर्ता धर्नाका लागि केन्द्रीय कार्यालयमा आउने पनि उनको दाबी छ।

क्रियाशील छानबिन समितिमाथि पनि उनले असन्तुष्टि जनाए । ‘यो क्रियाशील दिने सिष्टम विभेदकारी छ,’ उनले भने, ‘बारा र सप्तरीको मात्रै फाइल नखोल्ने अरूलाई भने नयाँ क्रियाशील दिने? यसो गर्न मिल्दैन।’ उनले १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट नयाँ अधिवेशन गर्न नसकिने बताए ।

‘पार्टीले नयाँ विधान बनाएको छ। महिला, दलित, मुश्लिमलगायत सबैलाई समेट्नुपर्नेछ। अनि विधानले नै नचिन्ने गरी कसरी पुरानै क्रियाशीलबाट नयाँ अधिवेशन गर्न सकिन्छ निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का नेता/कार्यकर्ता कांग्रेस कार्यालयको प्रांगणमा धर्नामा बसेका हुन् ।

पूर्वराष्ट्रपति यादवका छोराको स्वास्थ्य बिग्रँदै

कांग्रेस कार्यालयको पहिलो तलाको भित्री भागमा ५ दिनदेखि अनशनमा छन्– पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव। उनीसँगै आमरण अनशनमा रामपल्टन साह र दिनेश नायक छन्। उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । ‘विहीवार स्टार अस्पतालका डाक्टरले चेकअप गर्नुभएको छ। रिपोर्ट आइसकेको छैन,’ चन्द्रमोहन निकट एक कांग्रेस कार्यकर्ता उदय यादव भन्छन्, ‘हिजोसम्म बोलिराख्नु भएको थियो।

विहीवारदेखि बोल्न पनि नसक्ने अवस्थामा पुग्नुभएको छ। तैपनि पार्टी सभापति शेरबहादुर देउवा भेट्न आउनु भएन। समस्याको समाधान गर्न ध्यान दिनुभएन ।’ धनुषामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएकोले जिल्ला सभापति महेशशंकर गिरी र सचिव विश्वेश्वर यादवको उपस्थितिमा क्रियाशील सदस्यता छानबिन समितिले छानबिन गरिनुपर्ने माग उनीहरूले राखेका छन् ।

पार्टी विधान तथा नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेकोविरूद्ध उनीहरू अनसनमा छन्। साथै कांग्रेस धनुषाको संस्थागत निर्णय कार्यान्वयनका लागि पनि उनीहरूले माग गरेका छन् ।

सर्लाहीका नेता पनि अनसनमा कांग्रेस सर्लाहीका नेता रामगोविन्द राय दुई दिनदेखि केन्द्रीय कार्यालयमा अनसनमा छन्। सर्लाही क्षेत्र नम्बर ४ का उनी क्रियाशील सदस्यता वितरणमा अनियमितता भइरहेको विरोधमा अनसनमा बसेका हुन्।

सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील वितरणमा अनियमितता भएको दाबी छ। क्रियाशीलबारे विवाद भएको र समाधानका लागि सभापति देउवाले सक्रियता नदेखाएको विरोधमा सर्लाहीबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले बुधबार राजीनामा दिएका थिए ।

अन्य पार्टीबाट आएकाहरूलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको तर लामो समयदेखि कांग्रेसमा काम गरेका इमान्दार कार्यकर्ताले क्रियाशील नपाएकोले आफूले राजीनामा दिएको सिंह बताउँछन् । सभापतिले दुई दिनभित्र समस्या समाधान नगरे सभामुखलाई नै राजीनामा बुझाउने उनले बताएका छन्।

१२५ वडामा अझै विवाद

कांग्रेसमा पाँच हजार उजुरी परेकोमा केन्द्रीय क्रियाशील छानबिन समितिले करिब १२५ वडाबाहेक अरूको विवाद समाधान गरेर अन्तिम नामावली छापेको छ ।