१५ बैशाख २०८१, शनिबार

सडकमै धान रोपाई गरि विरोध

dhan ropai

सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हिलोले आवतजावतमा समस्या भएपछि स्थानियवासी र सवारीचालकले चक्काजाम गरेर सडकमै धान रोपेका छन् ।

निर्माण कम्पनीको ढिलासुस्तीले सुख्खायाममा धुलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पु लगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि सडकमै धान रोपेर बिरोध जनाएका हुन् ।

सडक बन्नु राम्रो कुरा हो । तर, निर्माण कार्यमा ढिलाई तथा पत्थरगाढादेखि मुतनी नदीबीचको दर्जनौं ठाउँमा रहेको खाल्डाखुल्डीले पटक पटक दुर्घटना निम्त्याएको छ । यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन्, स्थानियवासी अशोक साहले भने, “सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चक्काजाम र सांकेतिक बिरोध स्वरुप सडकमै धान रोपेका हौं ।”

वर्षायाममा हिलैहिलो र सुख्खायाममा धुलैधुलोबाट आजित भई दबाब दिन यसरी बिरोधमा उत्रनु परेको अर्का स्थानियवासी रामनारायण यादवले बताए । निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेकाले दिनहुँ दुर्घटनासँगै आवतजावतमा समेत समस्या भएकाले यसतर्फ स्थानिय प्रशासनले आवश्यक कदम उठाउनु पर्ने स्थानियवासीले माँग गरेका छन् ।