२० बैशाख २०८१, बिहीबार

ओलीको आममाफी घोषणाप्रति नेता नेपालले भने– महाराजधिराजको आममाफीमा हामी नाँच्नु कि हाँस्नु ?

madhav nepal 1 1

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिनुभएको हो ।

नेता नेपालले ओली अझै परिवर्तन नभएको बताउँदै गत वर्षदेखि पार्टीको विधि र पद्धतिलाई नमानिरहेको बताउनुभयो । नेता नेपालले आफ्नो निवासअघि राती मोटरसाइकलमा आएका १५÷२० जनाले तर्साउन खाजेको समेत बताउनुभयो । क्रान्तिकारी भाषणले मात्रै जनताको मन नजितिने बताउँदै नेता नेपालले क्रान्तिकारी कामले जनताको मन जितिने बताउनुभयो ।

नेता नेपालले भन्नुभयो, “हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुमाथि जति पनि स्पष्टिकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ, एम्नेस्टी एज एम्नेस्टी, अनि हामी गद्गद् भयौँ, महाराजाधिराजोवाच, हामी गद्गद् भयौँ, वाह् वाह् वाह्, महाराजधिराज खुशी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाँच्नु पर्ने भयो, खुशी हुनु पर्ने भयो, यही हो कम्युनिष्ट पद्धति ? स्पष्टिकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो ? मेरो निवासअघि राती मोटरसाइकलमा आएका १५÷२० जनाले तर्साउन खाजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिष्टको, त्यत्तिकै डराउँदैन ।”

नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र सफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सलाम गरेका छन् ।

नेता नेपालले भन्नुभयो, “केपी ओलीले सांसद विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ, संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ, मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु ।”

नेता नेपालले पार्टीमा हाल देखिएको अन्तर्विरोध पदका लागि नभएको समेत बताउनुभएको छ ।