४ जेष्ठ २०८१, शुक्रबार

जटिलताका बाबजुद खेलकुदको महाकुम्भ

tokyo1

कोरोना भाइरसको महामारीबीच ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिक इतिहासमा यो पटकको ओलम्पिक खेल जटिलताका बाबजुद सुरु गरिएको हो ।

जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।

ओलम्पिकमा भाग लिने २०५ देशले दर्शकविहिन स्टेडियममा मास्क लगाएर मार्चपास गरेका छन् । अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

स्टेडियममा दर्शक नभएपछि खेलाडीहरुले आफूलाई विश्वका अरबौं दर्शकले हेरिरहेको बुझेर त्यस अनुसारको मार्चपास गरेका छन् ।

जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित सुरु भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी पनि प्रस्तुत गरिएको छ । भाइरस महामारीको कारण यसपटक दर्शकबिनै ओलम्पिकको उद्घाटन गरिएको हो । खेल चलिरहँदा पनि दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइने भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण २०२० मा हुनुपर्ने ओलम्पिक २०२१ मा हुन लागेको हो । टोकियो ओलम्पिकमा २०५ देशका ११,३२४ खेलाडी सहभागी हुनेछन् । ३३ खेलका विभिन्न इभेन्टहरुमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना सहभागि छन् । पौडिकी गौरिका सिंहले दोस्रोपटक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि टोकियोमा छिन् । जुडोकी भट्टले रुसकी डोल्गोभा इरिनासँग शनिबार प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

जापानले ओलम्पिक आयोजनाका लागि १५ अर्ब ४० करोड डलर खर्च गर्दैछ । यो अहिलेसम्म ओलम्पिकमा खर्च भएकोमध्ये सर्वाधिक रकम हो ।