७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, एजेन्डा गोप्य

KP Sharma Oli Bidhya Devi Bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शीतल निवास पुगेर एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई घण्टा लामो संवाद गर्नुभएको हो ।

पाँच दलीय गठबन्धनले राष्ट्रपतिमाथि महाअभियोग तयारी गरिरहेको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। तर भेटवार्ताको विषय के थियो भन्ने जानकारी दिइएको छैन ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता भएको पुष्टि गरे पनि एजेण्डा आफूलाई थाहा नभएको बताउनुभयो । राष्ट्रपति भण्डारीले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई यसरी भेट्ने गर्नुभएको थिएन ।

राष्ट्रपतिले राज्यको कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्रीबाटै मुलुकको नियमित कामकारवाहीका सबै सूचना र जानकारी लिने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रपति–प्रधानमन्त्री भेट सामान्य र स्वभाविक मानिन्छ ।

तर, राष्ट्रपति र प्रमुख विपक्षी दलको नेता बीचको भेटघाटका सम्बन्धमा अहिलेसम्म राष्ट्रपति कार्यालय र विपक्षी दलको नेताको सचिवालय कसैले पनि औपचारिक रुपमा केही बताएका छैनन् ।

विपक्षी दलको नेता राष्ट्रपतिलाई भेट्नुपर्ने परिभाषित जिम्मेवारी भित्र पर्दैन । त्यसैले अरुलाई नभेट्ने ओलीलाई मात्रै भेट्नुलाई अर्थपूर्ण मानिएको छ । ओली प्रधानमन्त्री हुँदा हरेक गैरसंवैधानिक कदमलाई सदर गरेकी राष्ट्रपतिको त्यसैलाई लिएर चर्को आलोचना भैरहेको छ ।

दुई जनाबीचको भेटमा भएको कुराकानीबारे केही सार्वजनिक भएको छैन। तर एमाले सत्ताबाट बाहिरिएपछिको अवस्थालाई लिएर संवाद भएको हुन सक्ने अनुमान छ ।

शीतल निवासमा बसेपनि राष्ट्रपतिको एमालेभित्रको आन्तरिक विवादमा निकै चासो हुने गरेको छ । अध्यक्ष ओलीका पक्षमा उहाँले नेकपा हुँदा देखिनै बारम्बार सहजीकरण्को भूमिका पनि खेल्दै आउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाइसकेपछि सत्तारुढ गठबन्धनको अबको कदम राष्ट्रपतिविरुद्ध पनि हुन सक्ने अनुमान गरिएको छ। र, यो भेट त्यसैसित पनि जोडिएको हुन सक्ने अनुमान छ ।