२६ बैशाख २०८१, बुधबार

पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने : नेता नेपाल

madhav nepal 1

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पक्षनिकट युवासंघ नेपालले आज भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा आयोजना गरेको ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा उहाँले पार्टी नेतृत्वले गलत सोच राख्दा संसद्मा दुई तिहाइबाट सानो सङ्ख्यामा खुम्चिनु परेको बताउनुभयो ।

उहाँले पार्टी नेतृत्व आफ्नै पार्टीका सांसदको मत नपाउने अवस्थामा किन पुग्यो निर्मम समीक्षा हुन जरुरी रहेको बताउनुभयो ।

अहिले कम्युनिष्ट आन्दोलनमा कालो बादल मडारिइरहेको भन्दै उहाँले जनता साथमा नरहे पार्टीको अस्तित्व पनि सकिने बताउनुभयो । उहाँले चुनौतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने बताउँदै नेता अहङ्कारी भए की भनेर जाँच्नुपर्ने दिन आएको बताउनुभयो ।

नेता नेपालले नयाँ गठन भएको फोर्सलाई ईमान्दार भएर देश र जनता र पार्टीको हितमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले एमाले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै बोल्दा पनि ठाउँ राखेर बोल्न सुझाव दिनुभयो । उहाँले विगतमा धेरै पुत्ला जलाइएका काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक उचाइ र व्यक्तित्व झन् चुलिएको भन्दै अहिले पुत्ला जलाइएका नेता नेपालको उचाइ झन् बढ्ने बताउनुभयो ।

उहाँले नेपालमा देशको एउटै मात्र सेना हुने भन्दै उहाँले साइबर सेना र आइटी आर्मी गठन गलत भएको बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँताएसँगै नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ । एमाले वरिष्ठ नेता नेपालले आज एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्नुभयो । जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र जसको मार्गदर्शन युवा सङ्घले गर्ने र इन्चार्जमा संघका उपमहासचिव सञ्जीव राई रहनुभएको छ ।