
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र रेनुका गुरुङ उपेन्द्र यादवको पक्षमा आएका छन् ।
जसपाको पार्टी एकता पक्षमा रहेका राजकिशोर यादवले संसद् बचाउनका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भन्दै उपेन्द्र यादवको पक्षमा लागेको जसपाका सांसद प्रदीप यादवले बताए । पार्टीमा विवाद देखिएको कारण केही दिनदेखि उनी कुनै पक्षमा नलागी चुपचाप बसेका थिए । अहिले उनले उपेन्द्र यादवको पक्षमा लागेर प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने भएका छन् ।
उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरको पक्षमा गई ओली सरकारको राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि उपेन्द्र यादवको पक्षमा फर्किएकी छिन् । त्यस्तै उपेन्द्र यादव पक्ष छाडेर महन्थ ठाकुरकै पक्षमा लागेका अर्का सांसद रुही नाज पनि पुनः उपेन्द्र यादवको पक्षमा लागेकी छिन् ।
तीन जनाको गुट परिवर्तनसँगै अब यादवको पक्षमा प्रतिनिधिसभाका १८ सांसद पुगेका छन् ।