७ बैशाख २०८१, शुक्रबार

संसदीय दलमा उपेन्द्र पक्षको बहुमत, ६ जनाले छाडे महन्थको साथ

upendra yadav nirwachan 734x375 1
फाइल फोटो

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले निर्णय सुनाउन लागेका बेला उपेन्द्र यादव पक्षले संसदीय दलमा पनि बहुमत जुटाएको छ ।

जसपा उपेन्द्र पक्षको आइतबार पार्टी कार्यालय बालकुमारीमा बसेको संघीय संसदीय दलको बैठकमा १९ जना सांसद उपस्थित भएर हस्ताक्षर गरेका छन् । तीमध्ये दुईजना राष्ट्रियसभाका छन् ।

जसपाका प्रतिनिधिसभामा निलम्बितबाहेक ३२ जना र राष्ट्रियसभामा तीनजना सांसद छन् । आइतबारको बैठकमा प्रतिनिधिसभाका १७ जना सांसद उपस्थित भएको र एकजना रुही नाज सर्लाहीमा रहेकाले उपस्थित हुन नसकेको नेता इस्तियाक राईले बताए ।

राष्ट्रियसभाका तीनमध्ये मृगेन्द्रकुमार सिंह र प्रमिलाकुमारी यादव उपेन्द्र पक्षमा खुलेका छन् । प्रतिनिधिसभाका १२ जनाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउँदै अदालत गएका थिए ।

तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रमोद साह,नरमाया ढकाल, रेणुका गुरुङ, रुही नाज, अमृता अग्रहरी र रानी मण्डलले ठाकुर पक्ष छाडेका छन् ।

अब ठाकुरको पक्षमा १४ प्रतिनिधिसभाका १४ र राष्ट्रियसभाका एक सांसद बाँकी रहेका छन् ।