१६ चैत्र २०८०, शुक्रबार

सांसद पदबाट भीम रावलले दिए राजीनामा

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् । आज प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदैछन् । माधव नेपाल समूहले देउवालाई नै विश्वासको मत दिने बताएसँगै रावलले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् । ‘प्लीज मलाई नरोक्नु है मलाई पत्रकारहरूसँग कुरा गर्न दिनुस्,’ रावलले राजीनामा पत्र बुझाउन जाँदै गर्दा भनेका थिए ।

bhim

‘केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि पद्धतिलाई आफ्नो कुत्सित एवमं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी-निरकश किसिमले काम गर्ने अनैतिक चरित्रको घणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ’, राजीनामापत्रमा रावलले भनेका छन्, ‘यस्ता विकृत तथा देश र जनताको हितविपरीतका क्रियाकलापका विरुद्ध जम्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे ।

तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपग्दा उच्च राजनीतिक नेतत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा नीजि स्वार्थ, अहं, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एबम कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हन श्रेयष्कर भएकोले उक्त प्रकारको दषित खेलवाट आफलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘…तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले पत्रकारहरुमाझ भने ।