१३ बैशाख २०८१, बिहीबार

एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियोः भीम आचार्य

bhimacharya 1609407895

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् । माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

आचार्यले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए ।