१३ बैशाख २०८१, बिहीबार

दश वर्षपछि संघीय संसदमा भीम आचार्य कमब्याक

bhimacharya 1609407895
फाइल फोटो

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमाले विजयी भएको छ ।

एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले १९ हजार ३८६ मत पाए । यस क्षेत्रमा आधिकारी घोषणा हुन भने बाँकी नै छ ।

२०६४ र २०७० सालको निर्वाचनमा एमालेबाट तत्कालीन क्षेत्र नम्बर ६ बाट चुनाव जितेका आचार्य यस पटक २ नम्बरमा आएका थिए । अघिल्लो पटक प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका आचार्य १० वर्षपछि पुनः संघीय संसदमा फर्किएका छन् ।

एमालेको सचिवमा उम्मेदवार बनेर पराजित भएपछि केन्द्रीय राजनीतिमा कमजोर बनेको भनिएका आचार्यको पुनः कमब्याक भएको छ ।

सुनसरीका क्षेत्र नम्बर २ का दुवै प्रदेश सभा सदस्यमा पनि एमालेले जितेर गठबन्धनलाई क्लिनस्वीप गरेको छ । प्रदेश सभा १ बाट जिल्ला अध्यक्ष रेवती भण्डारी र २ बाट रामप्रसाद मेहता निर्वाचित भएका छन् ।