१३ बैशाख २०८१, बिहीबार

दुई हप्ताका लागि जोगियो बागमती र प्रदेश १ का मुख्यमन्त्रीको पद

astalaxmi shakya and bhim acharya 66

बागमती र प्रदेश १ का मुख्यमन्त्रीको पद कम्तिमा दशैंपछिसम्मका लागि जोगिएको छ ।

विश्वासको मत लिने प्रस्तावमा दशैंपछि मात्रै छलफल र निर्णय हुने भएकाले बागमती र प्रदेश १ का मुख्यमन्त्रीको पद कम्तिमा दुई हप्ताका लागि जोगिएको हो ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको छ । तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुनेछ । प्रदेश सभामा शाक्य अल्पमतमा परिसक्नु भएको छ। १ सय ९ सदस्यीय प्रदेश सभामा शाक्यको दल नेकपा एमालेमा ४३ सदस्य मात्रै छन्।

यस्तै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक दशैंपछि मात्रै बस्ने गरी स्थगित गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकपछि सभामुख भण्डारीले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।

तर त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गते मात्रै बस्ने जनाएको छ ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव लिनुपर्ने संवैधानिक बाध्यता छ । मुख्यमन्त्री आचार्य दशैंअघि प्रस्ताव दर्ता गरेर दशैंपछि विश्वासको मत लिने योजनामा हुनुहुन्थ्यो ।

तर प्रतिपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव निरन्तर प्रक्रियामा लगेर टुङ्गो लगाउनुपर्ने पक्षमा थिए । तर सभामुख भण्डारीले मुख्यमन्त्री आचार्यलाई अनुकुल हुनेगरी कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।

संविधानको धारा १ सय ८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएकाले दुबै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने भएको छ ।