१४ बैशाख २०८१, शुक्रबार

चितवनमा मनपरी भाडा उठाउँदै सार्वजनिक सवारी : बढी भाडा उठाए प्रहरीलाई खबर गर्न आग्रह

bus 2
सांकेतिक तस्विर

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकल रुटमा चल्ने सवारी साधनको भाडा नबढाउन आग्रह गरेको छ ।

शनिबार दिउँसो चितवनका यातायात व्यावसायीसँग सम्बन्धित संघ, संगठनका प्रतिनिधिहरुलाई ट्राफिक कार्यालयमा बोलाएर भाडादर नबढाउन आग्रह गरिएको ट्राफिक कार्यालयका प्रमुख (इन्सपेक्टर) भगवाननाथ थापाले जानकारी दिए ।

लोकल रुटमा चल्ने सार्वजनिक सवारी साधनमा मनपरी भाडा उठाउन थालिएको, भाडा बढी लिने गरिएको गुनासो आएपछि ट्राफिक कार्यालयले यातायात व्यावसायीहरुलाई भाडा नबढाउन आग्रह गरेको हो ।

राष्ट्रिय स्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनका लागि सरकारले भाडा बढाएको भए पनि लोकल रुटमा चल्ने सवारी साधनले पनि त्यसैलाई आधार मानेर भाडा बढाएका छन् ।

दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने) सार्वजनिक सवारी साधनमा लागु हुने गरी यातायात व्यवस्था विभागले भाडा दर बढाएको थियो । साउन १ गतेदेखि लागु हुने गरी असार ३० मा भाडा वृद्धिको निर्णय गरिको थियो ।

निर्णयानुसार एक प्रदेशबाट अर्काे प्रदेशमा जाने मालबाहक सवारी साधन, सार्वजनिक र अन्य सवारीसाधनको भाडादर समायोजन गरिएको हो । यात्रुबाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको २० प्रतिशत र तराइमा सञ्चालन हुने मालबाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरिएको हो ।

लोकल रुटको भाडादर समायोजन सम्बन्धी अधिकार प्रदेशहरुमा रहेको छ । प्रदेश सरकारले भाडादर समायोजन गरिसकेको छैन । तर भाडादर समायोजन नहुँदै लोकल रुटमा चल्ने चितवनका सार्वजनिक सवारी साधनहरुले भाडादर बढाएका हुन् ।

प्रदेश सरकारले भाडादर समायोजन नगरुनजेलसम्म पूरानै भाडादरमा सवारी सञ्चालन गर्न चितवनका यातायात व्यावसायीहरु सहमत भएको ट्राफिक प्रमुख थापाले बताए ।

‘लामो दुरीका सवारी साधनको भाडादर बढेको हो भन्ने नबुझेर होला लोकल रुटमा चल्ने सवारी साधनले बढी भाडा उठाएको । अब बढी भाडा नउठाउन सबैलाई अग्रह गर्छाैं । बढी भाडा उठाउने सवारी साधनको नम्बर दिनुस हामीले संघको तर्फबाट पनि कारबाही गर्छौं ।’ भनेर यातायात व्यवसायीहरुले आफूहरुलाई जवाफ दिएको ट्राफिक प्रमुख थापाले बताए ।

कुनै पनि सार्वजनिक सवारी साधनले बढी भाडा लिएको पाइएमा ट्राफिक प्रहरी कहाँ जानकारी गराउन यात्रुहरुलाई आग्रह गर्दै ट्राफिक प्रमुख थापाले बढी भाडा लिएको पाइए नियमानुसार कारबाही गरिने बताए । उनले बढी भाडा लिएको पाइए प्रहरीको नम्बर फोन गर्न आग्रह गरेका छन् ।

अहिलेसम्म बढी भाडा उठाउने सवारी साधनको नम्बर उपलब्ध नभएको बताउँदै उनले सबै सवारी साधनमा अनुगमन गरी रहन जनशक्ति अभाव भएकाले यस्ता विषयमा यात्रुहरु बढी सजग हुनुपर्ने बताए ।