२० बैशाख २०८१, बिहीबार

शीतलनिवास पुगे नवनियुक्त प्रधानमन्त्री देउवा, सपथमा ढिलाइ

3 nu7MZtQN3g

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथमा ढिलाइ भएको छ । प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तीको भाषा सच्याउन देउवाले माग गरेका छन् ।

राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेको स्राेतकाे भनाइ छ ।

विज्ञप्ती सच्याएपछि खबर गर्न मुख्यसचिव शंकरदास वैरागीलाई भनेका देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । यद्यपि विज्ञप्ती सच्चिएको निश्चित नभएकाले सपथमा ढिलाइ भएको बताइएको छ ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका थिए।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तीमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसलाबमोजिम भनेर उल्लेख गरिएको थियो ।

राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाको आपत्ति थियो । आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए ।

​साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

6 CdiOvN1dQB