१६ बैशाख २०८१, आईतवार

भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन

bipaskya 20210712200057

सर्वोच्च अदालतको आदेशपछि कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकार बनाउन लाग्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यस्तो बताएका हुन् ।

‘सर्वोच्च अदालतको फैसला अनुसार भोलि नै सरकार बन्छ । सरकार बनाउनको निम्ति हामी लागिपर्ने हो । संयुक्त गठबन्धनको सरकार हुन्छ । यसलाई प्रभावकारी रूपमा लिएर जाने कुरा भएको छ,’नेता भट्टराईले भने,’कोरोना विरुद्धको भ्याक्सिन, अर्थतन्त्रका संकट भ्रष्टाचार लगायतका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे बेलैमा तयारी गरेर अगाडि बढ्नेबारे छलफल भयो । सम्भव भएसम्म राष्ट्रिय एकता कायम गर्नका लागि प्रयत्न गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको थियो ।