१५ बैशाख २०८१, शनिबार

दाहाल, ओली र देउवाबीचको पुन: भेटले सदनको अवरोध हटाउनेमा सहमति

oli prachand deub
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै आएको नेकपा एमालेले संसद् नियमित सञ्चालन गर्न दिने भएको छ । सिंहदरबारमा सोमबार प्रधानमन्त्री दाहाल, नेकपा एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि संसद्‌को अवरोध हटाउन एमाले तयार भएको हो ।

प्रधानमन्त्री दाहालले आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‌मा दिने र पुन: विवादास्पद अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउने भनेपछि एमालेले संसद्‌मा अवरोध नगर्ने भएको हो ।

हिजो (आइतबार) पनि प्रमुख तीन नेताबीच संसद्‌को अवरोध हटाउन सहमत भए पनि पछि पुन: कुरा नमिलेपछि बैठक आजका लागि सारिएको थियो । आज बिहान ११ बजे बोलाइएको बैठक अहिले ३ बजे बस्ने भएको हो ।

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको विरोधमा गत मंगलबारदेखि संसद्‌मा अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले लगातार संसद बैठक अवरुद्ध पार्दा दुवै सदन चल्न पाएका छैनन् । एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको थियो । तर आज दाहाल, ओली र देउवाबीचको भेटले सदनको अवरोध हटाउनेमा सहमति जुटेको हो ।

प्रधानमन्त्री दाहालले केही दिनअघि एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटक-पटक दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिपछि दाहालले प्रधानमन्त्रीको पदमा रहिरहने नैतिक आधार गुमाएको एमालेको निष्कर्ष छ ।

राष्ट्रिय सभा बैठक भने भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ । सत्तापक्ष र विपक्षीबीचको प्रतिशोधका कारण संघीय संसद् बैठक एक सातादेखि अवरुद्ध भएको हो । प्रधानमन्त्रीले राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको भन्दै एमालेले गरेको अवरोधका कारण सदन नियमित चल्न सकेको छैन ।

आज बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पनि विशेष कारण देखाउँदै भोलिसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो । अवरोधका कारण राष्ट्रियसभामा विनियोजन विधेयकका शीर्षकमाथिको छलफल अलपत्र छ ।