१५ बैशाख २०८१, शनिबार

एमाले बैठक सम्पन्न, फैसलाबारे अनाैपचारिक छलफल

60ec46afefc24 uml standing committee28

नेकपा एमाले स्थायी कमिटीको बैठकमा सर्वोच्च अदालतले सोमबार गरेको फैसलाका सम्बन्धमा अनौपचारिक छलफल गरिएको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । आज दिउँसोदेखि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा उपलब्ध सदस्यहरुसँग समसामयिक एवम् राजनीतिक विषयमा छलफल भएको उहाँले जानकारी दिनुभएको छ ।

आजको बैठकमा सर्वोच्चको फैसलाले देशको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याएको साझा दृष्टिकोण पाइएको उहाँले बताउनुभयो । लोकतन्त्र शक्ति पृथककीकरण, शक्ति नियन्त्रण एवम् सन्तुलनको सिद्धान्तमाथि उभिएको, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति सन्तुलन रहनुपर्नेमा सर्वोच्चको फैसलाले लोकतन्त्रको पिलरलाई हल्लाएको समेत ज्ञवालीले बताउनुभएको छ ।

सरकार गठनका विषयमा संविधानमा आफ्नै व्यवस्था भएपनि यसको देशमा अर्को अभ्यास सुरु भएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसला अप्रिय र त्रुटिपूर्ण रहेपनि विधिविधान र फैसलालाई आफूहरुले मान्ने पनि उहाँले बताउनुभएको छ । भोलि बस्ने स्थायी कमिटीको बैठकले यसबारे औपचारिक धारणा निर्माण गर्ने एमाले प्रवक्ता ज्ञवालीले बताउनुभएको छ ।