२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै जुम्लाः विद्युत् परीक्षणको काम तीव्र

jumla bazar

साबिक कर्णालीको जुम्ला वर्षौँपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको छ । राष्ट्रिय प्रसारण लाइन परीक्षणको काम जुम्लामा आजभोलि तीव्र रुपमा भइरहेको छ ।

साउन पहिलो हप्ताबाटै राष्ट्रिय प्रसारण लाइनमा जुम्लालाई जोड्ने गरी हाल विद्युत् परीक्षणको काम भइरहेको हो ।

राष्ट्रिय प्रसारणका लागि जडान गरिएका ट्रान्समिटर तथा लाइनहरूमा पछि समस्या नआवस भन्नका लागि विद्युत् परीक्षणको काम तीव्र रुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताउनुभयो ।

दैलेख दुल्लु, दुल्लु र कालिकोट हुँदै जुम्ला आउने ११ केभी विद्युत् लाइन दिगो व्यवस्थापनको तयारीमा प्राधिकरणको ध्यान गएको समेत प्रमुख पाण्डेको भनाई छ ।

यता जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुग्ने कुराले जुम्लाबासी खुसी भएका छन् । करिब १ लाख २० हजार जनसङ्ख्या रहेको जुम्लामा करिब ९५ प्रतिशत नागरिक अन्धकारमै रहेका छन् । साउनमै राष्ट्रिय लाइन पुग्ने गरी जुम्लामा विद्युत् परीक्षणको काम हुन थालेपछि निकै खुसी लागेको चन्दननाथ नगरपालिका ४ का स्थानीय पूर्ण प्रसाद चौलागाईले बताउनुभयो ।

नेपाल विधुत प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लामा असार २६ गतेबाट पूर्वमा कालिकोट सीमा नाग्मदेखि पश्चिममा जुम्ला सदरमुकामको खलङ्गा बजारदेखि विभिन्न भागमा परिक्षण सुरु गरेको केन्द्र प्रमुख प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो ।