१३ बैशाख २०८१, बिहीबार

‘जुम्लामा मानवअधिकार उल्लंघनका घटना बढ्दै’

manab adhikar

जुम्लामा पछिल्लाे समय मानव अधिकार उल्लंघनका घटना बढ्न थालेका छन् । मानव अधिकारसम्बन्धी काम गरिररहेकाे गैरसरकारी संस्था इन्सेकले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा एक वर्षमा १२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । 

संकलित घटनाहरूको थप विवरण पुष्टि गर्ने र छुटेका घटना थप गर्ने उद्देश्यले मंगलबार सदरमुकाममा आयाेजित समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले १७ पुस ०७८ देखि ४ पुस ०७९ सम्म संकलन गरिएका २१ वटा घटना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सम्मानित रुपले बाँच्न पाउने अधिकार, हत्या कुटपिट चार वटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार आठ वटा, स्थानीय तहको निर्वाचनमा झडप ती वटा, घरेलु हिंसा पाँच वटा, आवासको अधिकार एक वटा र एक वटा विपद्काे घटनाबाट अधिकार हन्न भएकाे बताइएकाे थियाे । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताइन् । उनले जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । पाँच करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् ।

यस्तै, १० जना मानवीय क्षति र पशुपंक्षी, कृषियोग्य जमीनमा पनि क्षति भएको उनले बताए । विपद्बाट भएका सबै क्षति बारे गृह मन्त्रालयमा प्रतिवेदन पठाएकाे उनले बताए ।