८ बैशाख २०८१, शनिबार

माथिल्लो तामाकोशी विद्युत् आयोजनाबाट पूर्णरुपमा उत्पादन भएमा नेपालको परनिर्भरता हट्ने

Upper Tamakoshi Hydroelectric Project 1 55

माथिल्लो तामाकोशी विद्युत् आयोजनाबाट पूर्णरुपमा विद्युत् उत्पादन भएमा विद्युतमा नेपालको परनिर्भरता हट्नेछ । बजार मागभन्दा विद्युत् उत्पादन दर बढ्दै गएकाले भारतको विद्युतमा निर्भर हुनुपर्ने बाध्यता अब हट्ने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो ।

अहिले नेपाली बजारमा १३ सय ५० मेगावाट विद्युतको माग छ । उत्पादन अहिले १३ सय ५० मेगावाट भइरहेको प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो । माथिल्लो तामाकोशीको उत्पादन व्यवसायिक रुपले हुन थालेमा भारतबाट आयात गर्दै आएको ४ सय ५० मेगावाट विद्युतको पनि खाँचो नपर्ने उहाँले बताउनुभयो ।

नेपालमा विद्युतको माग र उत्पादन बराबर भए पनि समय समयमा विभिन्न कारणले आयोजनाहरु बन्द हुँदा भारतबाट पनि विद्युत आयात गर्ने गरिएको छ । अब माथिल्लो तामाकोशी आयोजनाले पूर्ण रुपमा व्यापारिक उत्पादन थालेपछि भने भारतबात बिजुलीको आयात गर्नुपर्ने आवश्यकता रहँदैन ।

माथिल्लो तामाकोशीको कुल क्षमता ४५६ मेगावाट छ । तत्काल माथिल्लो तामाकोशीमा परिक्षण उत्पादन मात्र शुरु भएकाले अझै व्यवसायिक उत्पादन शुरु हुन समय लाग्छ । पूर्ण क्षमतामा सञ्चालन गर्न तीन महिना समय लाग्ने प्राधिकरणले जनाएको छ । ७६ मेगावाटका दरले ६ वटा टर्वाइन मेसिनबाट विद्युत उत्पादन हुने भएकाले प्रत्येक मेसिनबाट लोड क्षमता जाँच गर्न तीन महिना समय लाग्ने प्राधिकरणका प्रवक्ता तिम्सिनाले जानकारी दिनुभयो ।

प्राधिकरणकाअनुसार बजारको माग दैनिक बढ्दोक्रममा छ । उत्पादनमा घटबढ भइरहने भएकाले भारतीय विद्युतमा निर्भर हुनुपर्ने बाध्यता अहिले छ । हिउँद र बर्खा समयमा विद्युत उत्पादनको दर नमिल्ने र केही विद्युत आयोजनामा प्राविधिक समस्याहरु आइरहने भएकाले उत्पादन एकनास नहुदाँ नियमति आपूर्ति गर्न समस्या हुने भएर हाल भारतबाट आयत गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ ।

मस्याङदी विद्युत आयोजनामा बाढीले क्षति पु-याएको छ । अन्य आयोजनाहरुमा समेत प्राविधिक समस्याहरु आइरहने देखिन्छ । उत्पादनभन्दा बढी दैनिक माग बढ्दै गएको प्राधिकरणको बुझाई छ । दैनिक माग सन्तुलन कामय गर्नेगरी (डेल्ली पिकिङ) गर्न माथिल्लो तामाकोसी, कालिगण्डकी, मस्याङदी, मध्य मर्स्याङ्दी, चमेलिया, माथिल्लो तामाकोशी आयोजनाले सहयोग पु¥याएको छ । यी आयोजनाहरुले दिनभर पानी जम्मा गरेर धेरै माग हुने समयमा दैनिक चार घण्टा उत्पादन गरी माग र उत्पादन सन्तुलन गर्न सहज भएको प्राधिकरणको बुझाई छ ।

प्राधिकरणले तत्काल माग धान्न र भारतबाट विद्युत आयात रोक्न स्टोरेज क्षमता बढाउने तयारी शुरु गरेको छ । प्राधिकरणले सहायक कम्पनी खडा गरेर ६३५ मेगावाट दूधकोसी, ८८० मेगावाट उत्तरगङ्गा र १८० मेगावाटको आँधीखोला स्टोरेज (भण्डारण) प्लान्ट निर्माणका लागि योजना बनाएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२ मेगावाट क्षमताको रोल्वालिङ खोला डाइभर्सन आयोजनाको निर्माण गर्न विद्युत विकास विभागले २०७७ भदौ २५ गते अनुमति प्रदान गरेको थियो । यो आयोजना निर्माणसँगै विद्युत् आपूर्ति थप सहज बन्ने प्राधिकरणले जनाएको छ ।