२३ बैशाख २०८१, आईतवार

एमाले कार्यदल बैठक सिंहदरवारमा शुरु, सहमतिपत्रमा सदस्यले हस्ताक्षर गर्ने तयारी

uml 1

सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सिंहदरवारमा शुरु भएको छ । अर्थ मन्त्रालयको कार्यकक्षमा शुरु भएको बैठकमा कार्यदलका सदस्यहरुले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरुले बताउनुभएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आन्तरिक परामर्शपछि सहमतिको बुँदालाई अन्तिम रुप दिन कार्यदलका सदस्यहरु अहिले बिहान साढे नौ बजेदेखि बैठकमा जुट्नुभएको हो । बैठक शुरु भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।

कार्यदलका सदस्यहरुले सहमतिलाई हस्ताक्षरसहित अन्तिम रुप दिएपछि आज दिउँसोका लागि स्थायी कमिटी बैठक बोलाउने तयारी एमालेले गरेको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज दिउँसोका लागि स्थायी कमिटी बोलाउने तयारी भएको बताउनुभयो । स्थायी कमिटी बैठकमा सहमतिका बुँदाबारे सामान्य व्रिफिङपछि अनुमोदन हुने नेता तामाङले जानकारी दिनुभयो ।

दश सदस्यीय कार्यदलका सदस्यहरु पछिल्लो समय गत सोमबारदेखि घनीभूत छलफलमा जुट्नुभएको छ । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य रहनुभएको छ । त्यस्तै नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ ।