१४ बैशाख २०८१, शुक्रबार

भोलि बुधबारको बैठकले दुरगामी महत्वको निर्णय गर्न सक्छ : नेम्बाङ्ग

subas nembang
फाइल फोटो

नेकपा एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बुधबार बस्न लागेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकको पूर्वसन्ध्यामा आज बसेको बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको एकताको विषयमा छलफल हुनुका साथै भोलिको बैठकबाट राजनीतिक रुपमा दुरगामी र महत्वपूर्ण निर्णय हुने बताइएको छ ।

बैठकबारे कुरा गर्दै एमाले नेता सुबासचन्द्र नेम्बाङ्गले भोलि नै दशाैं महाधिबेशन आयोजक समितिको बैठक रहेकाले त्यसको तयारीका लागि आज बैठक बसेको र भोलिको बैठकले केही दुरगामी महत्व राख्ने निर्णय गर्न सक्ने बताउनुभयो ।

उहाँले पार्टी एकताका लागि वार्ता र पहलहरु भई रहेको र यो निरन्तर चल्ने पनि बताउनुभयो । यस्तै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्थायी कमिटी बैठकले पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णय लिएको जानकारी दिनुभयो । २०७५ जेठ २ कै संरचनामा पार्टीलाई फर्काउँदै असार १८ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ । सो बैठकमा तत्कालिन सबै केन्द्रीय सदस्यलाई डाकिने जनाइएको छ । महाधिवेशन आयोजक समितिको बैठक समेत बुधबारका लागि राखिएको छ । पार्टी संगठनलाई २०७५ जेठ २ गतेकै अवस्थामा लैजाने भएपछि महाधिवेशन आयोजक समितिको बैठकको के औचित्य ? भन्ने गोरखापत्रको जिज्ञासामा प्रवक्ता ज्ञवालीले भन्नुभयो, “पार्टी संरचनाको पूर्ववत् अवस्थामा फर्कन पनि महाधिवेशन आयोजक समितिबाटै सच्चाउन आवश्यक हुन्छ ।”

भोलिको बैठकमा असन्तुष्ट पक्षका नेताहरुलाइ पनि निमन्त्रण गरिएको समाचारहरु आइरहेको र यसबाट पार्टी एकताका लागि केही महत्वपूर्ण निर्णयहरु आउन सक्ने अनुमान गरिएको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे बस्दैछ । एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आउनुभएको छ ।