४ बैशाख २०८१, मंगलवार

लगातार चौथो पटक संसद प्रवेशको योजनामा रहेका सुवास नेम्वाङलाई गठबन्धन तगारो ?

Subash nembang and Keshab Thapa

एमाले उपाध्यक्ष सुवास नेम्वाङ आगामी चुनाव मार्फत् लगातार चौथो पटक संसद प्रवेशको योजनामा हुनुहुन्छ । तर उहाँको निर्वाचन क्षेत्र रहेको इलाम–२ मा स्थानीय तहको मत परिणामले भने यो चुनाव यसअघिका भन्दा निकै कठिन हुने देखिन्छ । उता कांग्रेसका नेता केशव थापा नेम्वाङलाई हराएर केन्द्रीय राजनीति प्रवेशको योजनामा हुनुहुन्छ ।

गत संघीय चुनावमा कांग्रेसका केशव थापालाई ९६५४ मतान्तरले हराउँदै लगातार तेस्रो पटक निर्वाचित संविधानसभा अध्यक्ष एवं हाल एमाले उपाध्यक्ष रहेका सुवास नेम्वाङलाई यस पटकको निर्वाचन अग्नि परीक्षा सरह हुने निश्चित छ । शालिन र नम्र स्वभावका नेम्वाङलाई यसपटक पटक सत्ता गठबन्धन फलामको च्युरा बन्ने देखिन्छ ।

इलाम एकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालका लागि सुरक्षित गर्न इलाम २ मा कांग्रेसले टिकट पाउने पक्का छ । गत चुनावमा वाम गठबन्धनका तर्फबाट चुनाव लडेका नेम्वाङ ३६ हजार ५१४ मतसहित विजयी हुँदा कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभएको थियो । पहिलो संविधानसभा र २०७४ को निर्वाचनमा पनि थापा नेम्वाङसँग पराजित हुनुभएको थियो ।

संघीय निर्वाचन २०७४ को मत परिणाम
सुवास नेम्वाङ – नेकपा एमाले ३६ हजार ५१४ मत
केशव थापा – नेपाली कांग्रेस २६ हजार ८६०
मतान्तर ९ हजार ६५४

गत स्थानीय तह निर्वाचनमा इलामका दश पालिकामध्ये ५ पालिका जित्दै एमाले जिल्लाको पहिलो दल बनेको थियो । देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, माईजोगमाई गाउँपालिका र माङसेबुङ गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित हुँदा इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र सनकपुर गाउँपालिका गरेर ४ पालिकामा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीले सूर्योदय नगरपालिकामा जित हात पारेको थियो।

यो निर्वाचन क्षेत्रमा देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माई नगरपालिकाको ६,७ ८ वडा, माङसेबुङ गाउँपालिका, इलाम नगरपालिकाको दश नम्वर बाहेकका सबै वडा र चुलाचुली गाउँपालिका रहेका छन् । गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमाले वडागत परिणामका आधारमा दोस्रो स्थानमा छ ।

स्थानीय निर्वाचन २०७९ मा इलाम–२ मा वडागत मत परिणाम
नेपाली कांग्रेस– ३२,९७८
नेकपा एमाले– ३२,५२७
नेकपा माओवादी केन्द्र– २,७१७
जसपा– ५५४
नेकपा एकीकृत समाजवादी– २७७
राप्रपा– १३०

स्थानीय तहको मत परिणामका आधारमा एमाले दोस्रो शक्तिका रुपमा रहँदा सत्ता गठबन्धन नेम्वाङका लागि बाधक बन्ने अनुमान गर्न सकिन्छ । राष्ट्रिय छवि र व्यक्तित्वका कारण चुनावमा मत फरक पर्ने अवस्था रहेमा मात्रै नेम्वाङलाई सजिलो हुनेछ । स्थानीयबीच रहदै आएका कांग्रेसका थापाले नै टिकट पाए चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गर्न सकिन्छ ।