१५ चैत्र २०८०, बिहीबार

सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भयोः एमाले प्रवक्ता ज्ञवाली

ropai 13

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रवक्ता तथा पुर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताउनु भएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा सङ्घ नेपाल भक्तपुरको समन्वयमा सूर्य विनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाई विशेष कार्यक्रममा उहाँले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको बताउनुभयो ।

उहाँले यो खेल वर्तमान प्रधानमन्त्रीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रमा सीमित नभएको दाबी गर्नुभयो ।

जब जब एमाले विकासको लहर लिएर आउँछ तब तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षडयन्त्र हुने गर्छ भन्दै उहाँले एमालेलाई सिध्याउने २०५० सालदेखिको षडयन्त्र असफल हुँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याएको बताउँदै उहाँले सरकारले गरेका सबै उपलब्धिलाई सिध्याउने खेल मुलुककै लागि घातक भएको उहाँको भनाइ छ ।

संविधान बनाउँदा भएको हस्तक्षेपको, नाकाबन्दीको सामना गर्दै, जातजाति, धर्म, लिङ्ग, मधेस पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उहाँले अब युवा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा संघका इन्चार्ज, पूर्व मन्त्री एवं निवर्तमान सांसद महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको चर्चा गर्नुभयो ।

सरकारको विकासको योजना सफल पार्न युवा सङ्घ जोस जाँगर र ऊर्जाका साथ अगाडि बढेको उहाँको भनाइ थियो ।

कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन वृद्धिमा युवा लागेको चर्चा गर्नुभयो ।