१६ चैत्र २०८०, शुक्रबार

चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

giroj photo

नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।

पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला छन् । निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, झोला, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

कमल बाबु भट्टलाई पक्राउ गरी थप सोधपुछ गर्दा अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र बिशाल खड्काको गुरुपले बिक्रि गर्न राखेको भन्ने कमल बाबु पुरीबाट उक्त गाडी खरिद गर्ने बाहाना बनाई सम्पर्क गर्न लगाउदा गाडी किनबेचको कुरा मिलाई भक्तपुरको सुर्यविनायक ६ गणेश मन्दिरबाट प्रदेश ३–०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार र उक्त कारमा सवार अरुण खड्का, मधु सिलवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै सवारी दर्ता किताब कमल बाबु पुरीको नाममा रहेको छ । रेवती रमण निरौलाले यस्ता ब्लु बुक बनाईदिने गरेकाले उक्त नक्कली कागजातहरु विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुन सक्नेतर्फ थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ ।