१५ चैत्र २०८०, बिहीबार

४-० को सानदार जित निकाल्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा प्रवेश, वेल्स बाहिरियो

Denmark Dolberg 1024x629 1

यूईएफए युरो कपको प्रि-क्वाटर फाइनलको पहिलो खेलमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ।

फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले हराएको छ। योसँगै वेल्स युरोकपबाट बाहिरिएको छ ।

खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा वेल्सले अग्रता लिन सकेन । डेनमार्कले त्यसपछि आक्रमणमा जोड दिँदै लगातार कर्नरबाट दबाब सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

२७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन् । विंगर मिकेल डाम्सगार्डले दिएको पासलाई फ्रान्सेली क्लब निसबाट खेल्दै आएका फरवार्डले सुन्दर गोलमा परिणत गरे ।

डच क्लब आयाक्सका लागि समेत खेलेका उनले आफ्नो पूर्व क्लबको मैदानमा नै गोल गर्न सफल भएका हुन् । उनी नियमित फरवार्ड युसुफ पाउल्सेनलाई चोट लागेपछि सुरुवाती रोजाइमा परेका थिए । ३२ औं मिनेटमा डोलबर्गकै प्रहारलाई गोलरक्षक वार्डले विफल पार्दै स्कोर १-० कै स्थितिमा राखे ।

इन्ज्युरी समयमा डेनमार्कले अग्रता दोब्बर गर्ने अवसर सदुपयोग गर्न सकेन । फरवार्ड मार्टिन ब्रेथवेटले पेनाल्टी क्षेत्रभित्र बल रोक्न नसक्दा पछाडी आएका डिफेन्डर योकिम माहेलले गरेको प्रहार गोलरक्षक वार्डले विफल पारे ।

दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारे । ४८ औं मिनेटमा ब्रेथवेटले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा नेको विलियम्सले खराब क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

८२ औं मिनेटमा डेनमार्कले गोल गर्ने अर्को अवसर सिर्जना गर्यो । वैकल्पिक फरवार्ड आन्द्रिएस कर्नेलिएसले मिडफिल्डबाट बढाएको मुभमा ब्रेथवेटले दिएको क्रसलाई माहेलले गोलको दिशा दिन सकेनन् ।

Denmark Dolberg Goal 1024x508 1

८६ औं मिनेटमा ब्रेथवेटले सुवर्ण अवसर खेर फाले । कर्नेलिएसको हेडर गोलरक्षक वार्डले बचाएपछि आएको बललाई ब्रेथवेटले खाली पोस्टमा गोलको दिशा दिन सकेनन् । उनको प्रयास पोस्टमा लागेर फर्केपछि आएको रिबाउन्डमा जोआकिम एन्डरसनको प्रहार बाहिरियो ।

८७ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । वैकल्पिक खेलाडी माथिअस जेन्सनले दिएको सुन्दर पासलाई माहेलले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोल भएको थियो ।

९० औं मिनेटमा वेल्स १० खेलाडीमा सिमित भयो । माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । वेल्सका लागि इथान अम्पादुले पनि अघिल्लो खेलमा सिधै रातो कार्ड पाएका थिए ।

इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कको फराकिलो जित पक्का गरे । उनले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै वार्डलाई बिट गरेका थिए । रेफ्रीले सुरुवातमा अफसाइड दिएपनि भीएआर रिभ्युबाट गोलले मान्यता पाएको थियो ।

डेनमार्कले अब क्वाटरफाइनलमा आइतबार ९:४५ बजे हुने चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ । आज नै केहीबेरमा सुरु हुने दोस्रो खेलमा इटालीले अष्ट्रियासँग खेल्दैछ ।