१६ चैत्र २०८०, शुक्रबार

इटालीको संघर्षपूर्ण जितसँगै क्वाटरफाइनलमा, अष्ट्रिया बाहिरियो

italy vs austria 1

युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणको दोस्रो खेलमा अष्ट्रियालाई पराजित गर्दै इटालीले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । अतिरिक्त समयसम्म लम्बिएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ को जित दर्ता गरेको हो ।

खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएपनि खेलमा अग्रता लिन सकेको थिएन । दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । इटालीका फरवार्डले अपेक्षित प्रदर्शन गर्न नसक्दा अष्ट्रियाको रक्षात्मक रणनीति सफल भएको थियो ।

१७ औं मिनेटमा निकोलो बारेल्लाको प्रहारलाई गोलरक्षकले खुट्टाले बचाउन सफल रहेका थिए । त्यसको दुई मिनेटपछि नै बारेल्लाको प्रहारलाई डिफेन्डर हिन्टरेगरले छेक्दै गोलको खतरा टारेका थिए । ३२ औं मिनेटमा इटालीको अग्रता लिने प्रयासमा पोस्ट बाधक बन्यो । चिरो इम्मोबिलेले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षक ड्यानीएल ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

पहिलो हाफमा अष्ट्रियाले निकै कम गोलको अवसर पाएको थियो । १८ औं मिनेटमा मार्को अर्नाउटोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार आकासिएको थियो । ३६ औं मिनेटमा डेविड अलाबाको फ्रिकिक क्लियर गरेपछि आएको अवसरलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहजै बचाएका थिए । ४२ औं मिनेटमा स्पिनाजोलाको प्रहारलाई गोलरक्षक ब्याकमानले विफल पारे ।

६३ औं मिनेटमा अष्ट्रियाले अर्नाउटोभिचको हेडर गोल भएपनि भीएआरले त्यसलाई मान्यता दिएन । लाइनरको क्रसलाई अलाबाले हेडर गरेपछि फार पोस्टमा अर्नाउटोभिचले पोस्टको दिशा दिएका थिए । तर भिडिओ असिस्टेन्ट रेफ्रीले अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइड भन्दै गोल दिएनन् ।

८२ औं मिनेटमा स्पिनाजोलाको क्रसमा बेरार्डीको एक्रोब्याटिक प्रहार निकै बाहिर गयो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले केहि संयम भएर बल नियन्त्रण गर्नुपर्नेमा हतारमा प्रहार गर्दा गोलरक्षकलाई कुनै समस्या दिन सकेनन् ।

अतिरिक्त समयको ९५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । युभेन्टसका फरवार्ड किएजाले स्पिनाजोलाको चिप पासमा ६ यार्ड बक्स क्षेत्रभित्र राम्रो बल नियन्त्रण गर्दै तेस्रो टचमा गोल गरेका थिए ।

Austria Italy 1024x515 1

लोरेन्जो इन्सिग्नेले १ सय ४ औं मिनेटमा प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारेका थिए । तर त्यस बचाउपछि आएको कर्नरबाट बनेको मुभमा इटाली अग्रता दोब्बर पार्न सफल रहयो । म्याटियो पेस्सिनाले पेनाल्टी क्षेत्रभित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

अतिरिक्त समयको १ सय ६ औं मिनेटमा डोनारुम्माले राम्रो बचाउ गर्दै इटालीको २ गोलको अग्रता जोगाए । उनले लुइस स्वाउबले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।

खेलको ५ मिनेट समय बाँकी रहँदा अष्ट्रियाले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासा कालाज्डिचले गोल गर्दै इटालीलाई दबाबमा राखेका थिए । उनले कर्नरमा आएको बललाई निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरेका थिए । यससँगै इटालीले लगातार ११ खेलमा गोल नखाएको सिलसिलामा पनि पुर्णविराम लागेको छ ।

इटालीले अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ । उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।

अष्ट्रियालाई हराउँदै आफ्नो इटालीले विश्व फुटबलमा नयाँ कीर्तिमान समेत कायम गरेको छ । लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो कीर्तिमान तोडेको हो । यसअघि इटालीले नै सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लोपटक टोलीले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३१ खेलमा हार बेहोरेको छैन । अझ पछिल्लो १२ खेलमा टोलीले ३४ गोल गरेको छ ।