१५ बैशाख २०८१, शनिबार

खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका एरिक्सन डिस्चार्ज

ericson 3 ecoKJYMszO

खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन डिस्चार्ज भएका छन्। उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकाे डेनिस फुटबल संघले जनाएको हाे।

गत शुक्रबार युरो कपको फिनल्याण्डसँगको आफ्नो पहिलो खेलको क्रममा इन्टर मिलानका २९ वर्षीय मिडफिल्डर हृदयघातका कारण ४३औं मिनेटमा मैदानमा नै ढल्न पुगेका थिए।

त्यसलगत्तै मैदानमा प्रवेश गरेका स्वास्थ्यकर्मीले उनलाई सीपीआर (कार्डियो पल्मनरी रिससिटेसन), बन्द भएको मुटुलाई पुन: चलाउने विधि गरेका थिए।

लगभग १५ मिनेट मैदानमा नै प्राथमिक उपचार गरेपश्चात होसमा आएका उनलाई त्यसपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई हृदयघात भएको पुष्टि गरेको थियो।

एरिक्सनको मुटुमा ‘हर्ट डिफिब्रिलेटर’ जडान गरिएकाे छ। मुटुको विभिन्न परीक्षणपश्चात उनको मुटुको चालमा रहेको गडबडीलाई नियन्त्रण गर्न इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आईसीडी) प्रत्यारोपण गरिएकाे हाे। त्यसकाे अप्रेशनसमेत सफल भएकाे संघले जनाएको छ।

संघले एरिक्सनलाई उद्धृत गर्दै भनेको छ, ‘अप्रेशन सफल भयो र म राम्रो महसुस गरिरहेकाे छु।’ अप्रेशन सफल भएपछि एरिक्सनले राष्ट्रिय टोलीको क्याम्पमा पुगेर आफ्ना सहकर्मी भेटेका थिए। अब उनी घर गएर आराम गर्नेछन्।

आईसीडी मुटुको चालमा रहेको गडबडीलाई नियन्त्रण गर्ने ‘पेसमेकर’कै सुधारिएको संस्करण हो। पेसमेकरले मुटुको चाल कारणवश ढिलो भएमा त्यसलाई आवश्यकता अनुसार विद्युतीय झट्का दिएर ठिक अवस्थामा ल्याउने गर्छ। जसका कारण पेसमेकर राखेका व्यक्ति हृदयघात हुनबाट जोगिन्छन्।

आईसीडीले भने त्यसको अलावा मुटुको चाल छिटो भएमा त्यसलाई पनि ठिक अवस्थामा ल्याउन मद्दत गर्छ।

एरिक्सनका पूर्व सहकर्मी तथा डेनमार्कका ३१ वर्षीय डेली ब्लाइन्डले समेत २०१९ मा आईसीडी जडान गरेका थिए। नेदरल्याण्ड्स तथा अयाक्समा डिफेण्डर ब्लाइन्ड २०२० फेब्रुअरीमा मैदान फर्केका थिए।

ब्लाइण्ड हाल युरोकप मा नेदरल्याण्ड्सको टिममा छन्। एरिक्सनले सबैलाई धन्यवाद दिएका छन्। ‘मेरो लागि प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद। फेरि टोलीसँग भेट्न पाउँदा म खुसी छु। म सोमबार पनि रसियाविरुद्ध खेलमा टोलीको हौसला बढाइरहेको हुनेछु,’ उनले भने।