१६ बैशाख २०८१, आईतवार

विपत् व्यवस्थापन तथा राहतकार्यलाई तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

kp oli

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

जिल्लामा हालैको बाढी पहिरोले पुर्‍याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रवार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेशकमिटिको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय सङ्कट भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस कुरामा कसैले राजनीति गर्नु हुन्न मानवीय हिसाबमै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनु भयो । साथै उहाँले बाढीको पूर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नुसमेत दिनुभयो ।

यस्ता विपत्तिमा स्थानीय आवश्यकता अनुसारको राहत उपलब्ध गराइनुपर्ने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, त्यस्ता ठाउँमा दाताहरू पुगेका छन्, उनीहरूलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नु पर्छ,’ प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न , बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पुनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थायी वासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरूको पुनर्निर्माण र पुरिएका घरहरूलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरूको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

यसै गरी भत्केका मोटर पुलमा अस्थायी (बेलीव्रिज वा कज वे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउन र मानिस आवत जावतको लागि तत्कालै झोलुङ्गे पुल निर्माण गर्न माग गरिएको छ । साथै ध्वस्त भएको सञ्चार र विद्युत प्रसारणको लाइनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गर्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा ध्वस्त सबै खानेपानीका मुहान र संरचनाहरू मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था मेलम्ची आयोजनाको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी र भत्केका दुई वटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा निर्माण गरी पठन पाठन सुचारु गर्न माग गरिएको छ ।

साथ क्षतिग्रस्त प्रहरी चौकीको पूनःस्थापना, पानी जन्य रोग तथा अन्य सरुवा रोग रोकथाम नियन्त्रण र उपचारको लागि स्वास्थ्य शिविर सञ्चालन तथा तत्कालै खाद्यान्न र अन्य राहतको उचित प्रबन्ध गरियोस् ।

यसका साथै नदी किनारमा तार जाली लगाई पुरानै मार्गमा फर्काउने व्यवस्था, जनतालाई जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण , नदी किनारमा सञ्चालन भएका कृषि बाली, पशु चौपाया, कृषि फर्म होटेल, रिपोर्ट, पसल र अन्य व्यवसाय सञ्चालन गर्नेहरूको लगानी संरक्षण गर्न बैङ्कको व्याज मिनाहा र कर्जा पुनः संरचना गर्ने व्यवस्था गर्न र नदी किनारामा बाढीको पूर्व जानकारी दिने साइरन तत्काल जडान गनै पनि माग गरिएको छ ।

सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अविरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु , ४०० परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ ), ६ वटा मोटर पुल र १३ वटा झोलुङ्गे पुल बगाएको छ । यसै गरी हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने २ वटा विद्यालय (सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदिकिनारका बस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको पनि ज्ञाप्नपत्रमा उल्लेख छ ।

यसका साथै खानेपानी प्रणाली अवरुद्ध भई खानेपानीको अभाव भएको, नदी आसपासका सिचाई कुलो पुरै बगाएको, नदी किनारका घरहरूमा हिलो, लेदो पसी बस्न नहुने भएको तथा नदी किनारका १० वटा ट्राउट माछा फर्म समेत नष्ट भएको जानकारी सो अवसरमा दिइयो ।

बाढी पछि पनि नदीले आफ्नो बहाव परिवर्तन गरी जथाभाबी बगिरहेको छ , मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति भएको ,विद्युत प्रसारण लाइन अवरुद्ध भएको तथा बैङ्कबाट ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैङ्क किस्ता भुक्तानीमा समस्या भएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।