१६ चैत्र २०८०, शुक्रबार

चीनमा सुरु भयो ल्हासा जोड्ने पहिलो पूर्ण विद्युतीय बुलेट रेल

China ele bulet train

चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा-न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्षगाँठ आउनुअघि ४३५.५ किलोमिटर लामो यो रुटमा बुलेट रेल सञ्चालनमा ल्याइएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार ‘फुछिङ बुलेट रेल’ले आधिकारिक रुपमा आफ्नो सेवा सुरु गरेको हो । यो तिब्बतको पहिलो बुलेट रेल हो ।अहिले सञ्चालनमा आएको रुटमा नौ स्टेसन छन् । गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले न्यिङचि र सिचुआन प्रान्त जोड्ने रेलमार्ग निर्माणको लागि निर्देशन दिएका थिए । सिचुआन-तिब्बत रेलमार्ग सिचुआन प्रान्तको चेङ्दुबाट सुरु हुनेछ र यान हुँदैन क्वाम्डोबाट तिब्बत प्रवेश गर्नेछ। त्यसपछि चेङ्दु-ल्हासा यात्राको लागि लाग्ने समय ४८ घण्टाबाट १३ घण्टामा झर्नेछ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार अहिले सञ्चालनमा आएको बुलेट रेल प्रतिघण्टा १६० किलोमिटर कुद्न सक्छ । यो रेलमार्गको निर्माण सन् २०१५ मा सुरु भएको थियो ।

यो रेलमार्गको ९० प्रतिशतभन्दा धेरै भाग समुद्री सतहभन्दा ३ हजार मिटरभन्दा अग्लो स्थानमा छ ।अहिले सञ्चालनमा आएको रुटमा ४७ सुरुङ र १२१ पुलहरु छन् । उक्त रेलले यार्लुङ जाङबो नदीलाई १६ पटक पार गर्छ । सुरुङ र पुलले समग्र रेलमार्गको ७५ प्रतिशत हिस्सा ओगटेको छ । यो रेल मार्ग निर्माणको लागि १ लाख ३० हजार श्रमिकले श्रमदान गरेका थिए ।