२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गैरजिम्मेवार काम भइरहेका छन्ः देउवा

deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गैरजिम्मेवार काम भइरहेको आरोप लगाउनुभएको छ । बिहीवार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा सभापति देउवाले कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनुभएको हो ।

‘प्रतिनिधि सभाका बहुमत एक सय ४९ सदस्यहरूको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबीसहित पेस गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ’ , देउवाले भन्नुभयो ।

संविधान सभाले निर्माण गरी जारी गरिएको नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहङ्कार र स्वेच्छाचारी निर्णय र कामका कारण सङ्कटमा रहेको उहाँको आरोप छ । सभापति देउवाले भन्नुभयो, ‘असंवैधानिक रूपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकायलगायतका राज्य संयन्त्रहरूमाथि नियन्त्रण गर्ने काम प्रधानमन्त्रीबाट भएका छन् ।’