१४ बैशाख २०८१, शुक्रबार

भोजपुरमा एकै दिन ४१ संक्रमित थपिए

bhojpur cdo office

प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या सात सयको नजिक पुगेको छ । बिहीबार ४१ नयाँ संक्रमित थपिएसँगै भोजपुरमा दोस्रो लहरको कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ६ सय ७७ पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

भोजपुरमा हाल पिसिआर परीक्षण भन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आइरहेको छ । दोस्रो लहरको कोभिड–१९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको मात्र पिसिआर सङ्कलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन्ट परीक्षण विधिबाट २ हजार ४ सय ३९ जनाको परीक्षण गरिएकोमा ५ सय ७६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

जिल्लाको अहिलेसम्मको तथ्याङ्क अनुसार हालसम्म सबै भन्दा रामप्रसाद राई गाउँपालिकामा १ सय ३४ जना कोरोना संक्रमित देखिएका छन् । त्यस्तै भोजपुर नगरपालिकामा १ सय १०, हतुवागढी गाउँपालिकामा ९९, षडानन्द नगरपालिकामा ८६, अरुण गाउँपालिकामा १ सय ३०, टेम्केमैयुङ गाउँपालिकामा ४०, आमचोक गाउँपालिकामा २८, पौवादुङमा गाउँपालिकामा १५ र साल्पासिलिंछो गाउँपालिकामा ३५ जना कोरोनाका संक्रमित भेटिएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

सङ्क्रमितको सङ्ख्यामा वृद्धि भई रहँदा ४ सय १८ जना संक्रमित निको भएका छन् भने उपचारका क्रममा ५ जनाको ज्यान गएको छ । भोजपुरमा २ सय ३९ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेका छन् । जिल्ला बाहिर १६ जनालाई उपचारको लागि पठाइएको छ भने संस्थागत आइसोलेसनमा ९ जना र २ सय ३० जना होम आइसोलेसनमा बसेका छन् ।

संक्रमित मध्ये निको भएकाहरूमा षडानन्द नगरपालिका ७५ जना, भोजपुर नगरपालिका ६१, आमचोक २६, अरुण ६२, साल्पासिलिंछो ६, टेम्केमैयुङ १२ ,पौवादुङमा ८, रामप्रसाद राई १ सय ५ र हतुवागढी गाउँपालिकाका ६३ जना रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।