७ बैशाख २०८१, शुक्रबार

डोटीमा कोरोनासँगै भाइरल ज्वरोका बिरामी बढ्दै

health check up

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।

यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका–१ समुहगाढका खडकबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणसँगै यहाँका गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्, यहाँका प्रत्यक गाउँगाउँमा भाइरल ज्वरोका बिरामी नपरेका घर पाउन मुश्किल छ ।” टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणसहितका बिरामी प्रायःदैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

गाउँमा दिनहुँ भाइरल ज्वरोका बिरामी थला पर्न थालेपछि समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालिका–२ की पार्वती कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोले दिनहुँ मानिस बिरामी पर्दैछन्, हामीलाई कोरोनाभन्दा पनि भाइरल ज्वरोले सताएको छ ।” उहाँका अनुसार भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचार गर्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको छ । जोरायल गाउँपालिकाका स्वास्थ स्वास्थ्य संयोजक गोविन्द विष्टका अनुसार भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको भएको छैन ।