८ बैशाख २०८१, शनिबार

निवर्तमान सभामुख महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

d

प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबर्जस्ती करणी उद्योग मुद्दामा अन्तिम सुनुवाइ हुँदैछ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

संसद सचिवालयमा कार्यरत एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

अदालतका स्रोतका अनुसार सम्भवतः आइतबारै फैसला आउने बताईएको छ । स्रोतले भने अनुसार, ‘बहस सकिए आजै फैसला आउँछ ।’

यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए ।

उनीहरुले घटनाको विवरण र प्रहरीले संकलन गरेको प्रमाणका आधारमा महरा दोषी भएकाले १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए। आइतबार महराका तर्फबाट बहस हुनेछ। उनीहरुको बहसपछि जिल्ला न्यायाधीशले उठेका बाँकी प्रश्नको बारेमा सरकारी वकिलको बहस सुन्नेछन् ।

दुवैका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ। उनीविरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग अभियोगपत्रमा गरिएको छ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। गत असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबर्जस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।