१६ चैत्र २०८०, शुक्रबार

सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग : महरा

Krishna Bahadur mahara
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का नेता एवम् प्रवक्ता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् ।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।

उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।”

उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेका छन् ।

पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा.दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए ।